महिला हिंसाका दोषीलाई मृत्युदण्ड दिने कानुन बारे छलफल गर्न सकिन्छः मन्त्री थापा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले महिला हिंसा रोक्नको लागि दोषीलाई मृत्युदण्डसम्मको सजाय दिन सकिनेबारे छलफल सुरु गर्न सकिने बताउनु भएको छ ।
यद्धपि उहाँले अहिले भएका कानूनलाई नै प्रभावकारी कार्यान्वयन तर्फ जोड दिनुपर्ने पनि बताउनु भयो ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्री थापाले तत्काल मृत्युदण्ड नै दिनुपर्छ भन्ने स्थिति नभएको सुनाउँदै भएकै संविधान, कानून र ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने स्पष्ट पार्नु भयो ।
उहाँले अगाडि भन्नुभयो,‘बलात्कार, हत्या, एसिड आक्रमणलगायतका हिंसाका घट्नामा संलग्न दोषीलाई हदैसम्मको कडा कारबाही गर्नुपर्छ । तर, दोषीलाई मृत्युदण्डको सजाय दिनेबारे कानून बनाउनुपर्छ भन्नेबारे छलफल त गर्न सकिन्छ ।’
साक्षात्कारमा उहाँले संविधान, कानून र ऐनको मर्म र भावनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिला हिंसाका घट्ना न्यूनीकरणको लागि सबै तह र तप्काबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि राख्नुभयो । अहिलेपनि महिला हिंसामा संलग्न दोषीलाई प्रचलित कानूनअनुसार कारबाही भैरहेको उहाँले स्पष्ट पार्नुभयो ।
वर्तमान सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हितमा कार्यक्रम सञ्चालन गरिरहेको उहाँको विश्वास थियो । उहाँले भन्नुभयो्,‘हामीले त्यहीअनुसारको महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री कानून तथा ऐनहरु बनाएका छौं ।’ संविधानको मर्म र भावनाअनुसार कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौं ।’
मन्त्री थापामगरले अहिलेपनि महिलामाथि हुने हिंसाहरु यथावत रहेकोमा भने चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘सरकार महिला हिंसाविरुद्धका घट्ना न्यूनीकरण गर्न गम्भीर छ । सरकारबाट ईतिहासमै नभएको काम भएको छ । हामीले महिला ंिहसा विरुद्धका अभियान सञ्चालन गरेका छौं । जुन यसअघिका कुनैपनि सरकारले गरेका थिएनन् । अहिले ७ वटै प्रदेशमा महिला हिंसाविरुद्धका कार्यक्रमहरु सञ्चालन गरेका छौं ।’ उहाँले २०७६ लाई सरकारले महिला हिंसाविरुद्धको अभियान वर्षको रुपमा मनाईरहेको पनि सुनाउनु भयो ।
मुलुकमा व्यवस्था परिवर्तन भएपनि अहिलेपनि पूरातन सोच, चिन्तन र व्यवहार परिवर्तन नभएको भन्दै मन्त्री थापामगरले चिन्ता व्यक्त गर्नुभयो ।
सरकार एक्लैको प्रयासबाट मात्रै महिला हिंसाको घट्ना न्यूनीकरण नहुने भन्दै उहाँले नागरिक समाज, सचेत नागरिक सबैले महिला हिंसाविरुद्ध सशक्त आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । न्युज २४ अनलाइन







