आत्महत्या धेरै हुने देश मध्ये नेपाल ७ औं स्थानमा
विश्वका सबैभन्दा धेरै आत्महत्या हुने देश मध्ये नेपाल ७ औं स्थानमा रहेको आत्महत्या रोकथाम सम्बन्धि अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तगर्त आज हेटौंडामा भएको आत्महत्या रोकथाम सम्बन्धि अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले यस्तो जानकारी दिनु भएको हो ।
एसपी सिंहले विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार आत्महत्या धेरै हुने देशमा दक्षिण एशियामा श्रीलंकापछि नेपाल दोश्रो स्थानमा रहेको समेत जानकारी दिनुभयो ।
प्रत्येक ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्ने गरेको तथ्याङक प्रस्तुत गर्दै एसपी सिंहले विश्वभर १ वर्षमा ८ लाख जनाले आत्महत्या गर्ने गरेको बताउनुभयो ।
नेपालमा प्रत्येक दिन १६ जनाले र वर्षमा ५ हजार भन्दा बढीले आत्महत्या गर्ने गरेको तथ्याङकमा उल्लेख छ । मकवानपुरमा मात्रै एक वर्षमा १५८ जनाले आत्महत्या गर्ने गरेको जानकारी दिँदै एसपी सिंहले प्रदेश तीनमा गत वर्ष ८१७ जनाले आत्महत्या गरेको बताउनुभयो ।
कार्यक्रममा प्रहरी कार्यालय प्रदेश तीनका वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले आत्महत्या न्यूनिकरणका लागि सबै क्षेत्रबाट पहल गर्नु पर्ने बताउनुभयो ।
मानिसले क्षणिक आवेसमा आएर अमुल्य जीवन अन्त्य गरिरहेको भन्दै उहाँले आफु स्वयम पनि मानसिक तनावबाट मुक्त रहनु पर्ने सुझाव दिनुभयो ।
वरिष्ठ प्रहरी उपरीक्षक चौधरीले तनावको विषयमा घरका सदस्य वा नजिकको व्यक्तिसंग परामर्श गर्ने बानी आत्महत्या रोक्ने राम्रो माध्यम बन्न सक्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा आज सेप्टेम्बर १० अर्थात अन्तराष्ट्रिय आत्महत्या रोकथाम दिवसको अवसर पारेर सामुदायीक सेवा केन्द्र थानाभर्याङमा अन्तरक्रिया गरिएको हो ।
सामुदायीक सेवा केन्द्र थानाभर्याङका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी कार्यालय प्रदेश तीनका प्रहरी उपरीक्षक अरुण पौडेल, सशस्त्र प्रहरी १४ नम्बर गणका प्रहरी उपरीक्षक विकास घिमिरे, हेटौंडा अस्पतालका डा. सागर काफ्ले, डा. सन्ध्या अधिकारी लगायत स्थानिय टोल विकास संस्था तथा आमा समुहका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।







