संविधानको घेरा भित्र रहेर गर्ने काममा कसैले हस्तक्षेप गर्न सक्दैनः मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
भदौ २४, २०७६

प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले स्थानिय तह बलियो भए मात्रै संघियता टिक्ने बताउनु भएको छ ।

'प्रदेश सरकारको पहिचान निःशुल्क कानुनी जनसहायता अभियान' विषयक २ दिने कानुनी सहजकर्ता अभिमुखीकरण कार्यक्रमको आज हेटौडामा उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

गाउँपालिकाका उपाध्यक्ष र नगरपालिकाका उप प्रमुख बिच हार्दिकता तथा समन्वयको अभाव देखिने गरेको भन्दै मुख्यमन्त्री पौडेलले न्याय सम्पादनको मामलामा पार्टीगत हिसाबले नसोच्न आग्रह गर्नुभयो।

संविधानले जनप्रतिनिधीहरुलाई समान अधिकार दिएको भन्दै उहाँले संविधानले दिएको अधिकारमा टेकेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– 'संविधानको घेरा भित्र रहेर गर्ने काममा कसैले हस्तक्षेप गर्न सक्दैन ।'

मुख्यमन्त्री पौडेलले प्रदेश तीन सरकार भ्रष्टाचार विरोधी सरकार भएकाले सेवाग्राहीबाट कुनै फाइदा लिएको भेटिए तत्काल कार्वाही गर्ने चेतावनी दिनुभयो ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना भएको तालिममा ६ ओटा जिल्ला (दोलखा, रामेछाप, नुवाकोट, काभ्रे, रसुवा र सिन्धुली) का ५९ जना कानुनी सहजकर्ताहरु, जिल्ला समन्वय समितिका उपप्रमुख, नगरपालिका र गाउँपालिकाका उपप्रमुखहरुको उपस्थिती रहेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षता भएको कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रमुख सचिव, मुख्य न्यायाधीशवक्ताको कार्यालय हेटौंडाका मुख्य न्यायाधीवक्ता ओम प्रसाद थपलिया, आन्तरिक मामिला तथा कानुन मन्त्रलयका सचिव बिनोद प्रसाद सिंह, मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायधीश डिल्ली रत्न श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । तालिम भोलीसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*