नेपाली काङ्ग्रेसको दाेस्राे जागरण अभियान मंगलबारदेखि सुरू

पुर्व याेजनानुरूप नेपाली कांग्रेसले हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरण’ अभियानकाे दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ ।
पार्टीका संस्थापक नेता वीपी कोइरालाको १०६ औं जन्मजयन्तिको अवसर पारेर कांग्रेसले दोस्रो चरणको जागरण अभियान चलाउन लागेको हो।
नेपाली काँग्रेस मकवानपुरले सोमबार पत्रकार सम्मेलन गर्दै मकवानपुरका चारै प्रदेश निर्वाचन क्षेत्रमा एकसाथ कार्यक्रम हुने बताएको छ ।
काँग्रेस प्रवक्ता प्रदिप कोइरालाका अनुसार क्षेत्र नम्बर १ क मा प्रेमचन्द्र दाहाल, १ ख मा ऋषिराम घिमिरे, २ क मा प्रतिमा गौतम र २ ख मा शेषनाथ अधिकारीलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको छ ।
भोलि क्षेत्र नम्बर १ क मा हेटौंडा–१६, १ ख मा हेटौंडा ५ नम्बर वडामा, २ क मा मार्खु र २ ख को मनहरीमा वृक्षारोपण गरी एकसाथ अभियान उद्घाटन हुनेछ ।
दोस्रो चरणका कार्यक्रमहरू प्रथम चरणका कार्यक्रमझैं छरितो स्वरूपमा हुने बताइएको छ । “एक मिनेटभित्र आसन ग्रहण सकिन्छ ।
ठूला केजीमा तौलिने माला एवं व्याजरहित हुन्छ । वक्ताको संख्या सीमित हुन्छ । कार्यक्रम बढी अन्तरक्रियात्मक हुन्छ ।
अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने कम र सुन्ने बढी प्रकृतिका कार्यक्रम निर्धारित हुनेछन् ।
प्रवक्ता कोइरालाका अनुसार अभियानको अन्तिम दिन असोज ७ गते कांग्रेसले ७७ वटै जिल्लामा विभिन्न पाँच वटा मुद्दामा केन्द्रित रहेर विरोध प्रदर्शन र सभा गर्ने भएको छ ।
दोस्रो चरणको जागरण अभियानका क्रममा कांग्रेसले ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा झण्डै ३५ हजार बिरुवा रोप्ने भएको छ ।
जननायक वीपी कोइरालाको १०६ औं जन्मजयन्तिको प्रतिक स्वरूप प्रत्येक निर्वाच्न क्षेत्रमा एक सय छ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा रोपेर दोस्रो चरणको जागरण अभियानको उद्घाटन गर्ने कांग्रेसको तयारी छ ।
अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगति विरूद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडा स्तरीय अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्वन्दपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षालगायतका कार्यक्रमहरु तय गरेको छ ।
विशेष सामाजिक संवादका क्रममा समाजका विभिन्न समुदाय, वर्ग, पेशा र क्षेत्रका महिला–पुरुषले वर्तमान अवस्थामा राख्ने धारणा र भावना बुझ्ने, उनीहरुका प्रश्न, पीडा र अपेक्षाका बारेमा जानकारी लिने प्रवक्ता कोइरालाको भनाइ छ ।
उनीहरुसँग वर्तमान सरकारसँग राखिएका अपेक्षा र वर्तमान परिणामको अनुभूति र समीक्षाका बारेमा धारणा माग गर्ने र आजको अवस्थाका सम्बन्धमा कांग्रेससँग उनीहरुको प्रष्ट अपेक्षाका बारेमा जानकारीसमेत लिने उनले बताए ।
दोस्रो चरणको अभियानअन्तर्गत कांग्रेसले ७७ वटै जिल्लाका एक लाख युवासँग संवाद गर्ने लक्ष्य राखेको छ ।
प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सदस्य राजीव सुबेदी, जीपी फाउन्डेशनका मकवानपुर क्षेत्र नम्बर १ ख का अध्यक्ष पूर्णप्रसाद पुडासैनीलगायतको आतिथ्यता रहेको थियो ।
दोस्रो चरणको अभियान असोज ७ गते समापन हुने कांग्रेसले जानकारी दिएको छ ।







