स्मार्ट सिटी विकासका लागि कोरियाले सहयोग गर्ने  

छहारी संवाददाता
भदौ २०, २०७६

काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको पुनर्निर्माण र स्मार्ट सिटीहरुको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ ।

ऐतिहासिक महत्वका काठमाडौं उपत्यकाका साँखु, बुङमती र खोकनाको परम्परागत बस्तीहरुको पुनर्निर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरुमा स्मार्ट सिटी बनाउनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, काठमाडौं उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनबीच सियोलमा आज समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार पहिलो चरणमा सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनले प्राचीन बस्तीका रुपमा रहेको साँखु, बुङमती र खोकनाको मुख्य बस्ती र सोसँग जोडिएका क्षेत्रहरुको गुरुयोजना तयारी एवं विभिन्न योजनाहरुको विस्तृत परियोजना प्रस्ताव तयार पार्नका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

सो परियोजना प्रस्तावका आधारमा कोरिया सरकार तथा निजी क्षेत्रमार्फत लगानी परिचालन गरिने भएको छ । यस्तै, सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेसनले स्मार्ट सिटी विकासका सन्दर्भमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणको संस्थागत क्षमता विकासमा सहयोग पुर्याउनेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त समझदारी काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको संरक्षण गर्न तथा नयाँ शहरहरुको विकासका लागि कोसेढुङ्गा सावित हुने बताउनुभयो ।

सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनका प्रमुख कार्यकारी अधिकृत सी योङ कीमले शहरी क्षेत्रको पुनर्निर्माण तथा स्मार्ट सिटीहरुको विकासका सन्दर्भमा कोरियाले प्राप्त गरेको ज्ञान तथा अनुभव नेपाललाई बाँडन् पाउँदा खुशी लागेको बताउनुभयो ।

समझदारीपत्रमा नेपालका तर्फबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का आयोजना निर्देशक नवराज प्याकुरेल र कोरियको तर्फबाट कार्यकारी निर्देशक इन गो काङले हस्ताक्षर गर्नु भएको छ ।

यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ग्लोबल इन्फ्रास्टकचर कोअपरेसन कन्फेरेन्समा नेपालको पुनर्निर्माणको भावी कार्ययोजना र अन्तराष्ट्रिय सहयोगको अवस्था सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वान कि मुनले शहरी क्षेत्रको विकास तथा पूर्वाधारहरु निर्माण गर्दा पर्यावरणीय संरक्षण र दिगो विकासका निम्ति सबै मुलुकहरुका बीच सहकार्य गर्नु पर्नेमा जोड दिनु भएको थियो । सीआईएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*