बारा र पर्साका ८६९ हुरी पीडितलाई सुरक्षित आवास हस्तान्तरण 

छहारी संवाददाता
भदौ १९, २०७६

गएको चैत्र १७ गते आएको हावाहुरीले घरवाह विहिन बनेका बारा र पर्साका आठ सय ६९ जना हुरी पीडितले सुरक्षित आवास पाएका छन् ।

नेपाल सरकारको निर्णय अनुसार नेपाली सेनाले निर्माण गरेको सुरक्षित आवास आज एक कार्यक्रमका विच कार्यवाहक प्रधानमन्त्री एवम रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लाललबाबु राउतले स्थानीय तहलाई हस्तान्तण गरेको हो ।

नेपाली सेनाको जनता आवास कार्यदलले निर्माण गरेको घरको स्थलगत निरीक्षण गरी पर्साको वीरगञ्जमा एक कार्यक्रमको आयोजना गरि सुरक्षित आवसको साचो हस्तान्तरण गरिएको हो । सेनाले बारामा आठ सय सात र पर्सामा ६२ वटा घर हुरी पीडितका लागि निर्माण गरेको हो ।

हुरी प्रभावितका लागि घर निर्माण गर्न बनाईएको जनता आवास कार्यदलको नेतृत्व गरिरहनुभएका नेपाली सेनाका सहायक रथी बिनय बिक्रम राणाले सबै पिडितको घर निर्माण सम्पन्न भएको बताउनुभयो । उहाँले दुबै जिल्लाका गरि आठ सय ६९ घरको निर्माण कार्य सम्पन्न भएको बताउनुभयो ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ चैत २१ गतेको बैठकले सेनालाई घर निर्माणका लागि जिम्मा दिएको थियो ।

त्यसको एक महिनापछि गएको वैशाख २१ गते उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पोखरेल र उप प्रधानमन्त्री एवम स्वास्थ्य मन्त्री उपेन्द्र यादबसहित केन्द्र सरकारका १० मन्त्री, प्रदेश २ का प्रदेश प्रमुख र मुख्यमन्त्रीगरि १२ जनाले बारा र पर्साका विभिन्न १२ स्थानबाट एकै साथ हुरीपीडितको घर निर्माणको शिलान्यास गरेका थिए ।

त्यस लगतै नेपाली सेनाले घर निर्माणको काम सुरु गरेको थियो । सेनाले जनता आवासको डिजाईन अनुसार दुई कोठा एक भान्छाघर र एक शौचालयसहितको घर निर्माण गरेकोे हो ।

सरकारले प्रतिघर पाँच लाख ४५ हजार नौ सय ८५ रुपयाँ ८८ पैसाका दरले रकम निकासा गरेको थियो । सोही परिधिभित्र रहेर प्राप्त डिजाईन अनुसार कम लागतमा आकर्षक घर निर्माण गर्ने योजना बनाएको सेनाले सरकारले तोकेको रकममा समेत ११ दशमलव १९ प्रतिशत बचत गर्न सफल भएको छ ।

कन्टिन्जेन्सी र निर्माण समग्रीबाट प्रति घर ६१ हजार ९७ रुपयाँ २५ पैसा बचत भएको कार्यदलका ईन्जिनियर सेनानी महेन्द्र सिजापती थापाले बताउनुभयो । उहाँका अनुसार प्रती घर निर्माणमा जम्मा चार लाख ८४ हजार आठ सय ८८ रुपयाँ खर्च भएको छ ।

हुरीले घरबारबिहिन भएकाको पुर्नवासका लागि बनाएका घर प्राकृतिक प्रकोप प्रतिरोधी र वातावरण मैत्री रहेका सेनाले दाबी गरेको छ । उत्कृष्ट निर्माण सामग्री प्रयोगबाट प्राकृतिक प्रकोप प्रतिरोधी, वातावरणमैत्री र आकर्षक डिजाईनमा घर निर्माण गरिएको कार्यदलका ईन्जिनियर थापाले बताउनुभयो ।

बाराको परवानिपुर, पर्सौनी र फेटा लगायत क्षेत्रका हुरी पीडितका दर्जनौ घर निर्माण हुनबाट छुटेका भन्दै कार्यबाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पोखरेलको ध्यानाकर्षण समेत गराइएको छ ।

स्थानिय पीडितको नामावली छुटेको भन्दै स्थानीय पीडित मन्त्रालय पुगेर छुटेका घर निर्माणका बारेमा मन्त्रीसंग छलफल समेत गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा अभिलेख गर्ने क्रममा राजनीतिक पूर्वाग्राही भएर अभिलेखमा नाम छुटाएको भन्दै परवानीपुरका पीडितले आन्दोलन समेत गरेका थिए । सिआईएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*