काम सुरु भएको १० महिनामा मेलम्चीको पानी काठमाडौं आउछः सरकार

सरकारले मेलम्ची आयोजनाको काम पुनः सञ्चालनमा आएको १० महिनाभित्र काठमाडौंमा पानी आइपुग्ने आश्वासन दिनुभएको छ ।
संसदको सार्वजनिक लेखा समितिको आज सिंहदरबारमा बसेको बैठकमा खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले यस्तो आस्वासन दिनुधएको हो । सांसदले यत्तिका वर्ष ल्याउन नसकेको मेलम्चीको पानी अब आउने ग्यारेन्टी के छ भनी प्रश्न गरेका थिए ।
झन्डै नौ महिनादेखि अवरुद्ध मेलम्ची खानेपानी आयोजनाका विषयमा लेखा समितिले सम्बन्धित निकायका अधिकारीलाई बोलाएर आज छलफल गरेको हो ।
आयोजनाको काम जति सक्दो चाँडो अघि बढाउने तयारी रहेको भन्दै सचिव बेल्वासेले पीडित मजदुरको ज्याला सरकारले दिने तयारी भइरहेको जानकारी दिनुभयो । इटालियन कम्पनी सीएमसीले काम लगाएका ६ सय ८० मजदुरको तीन करोड २० लाख भुक्तानी दिनुपर्नेछ ।
मजदुरले पहिलेको भुक्तानी नभएसम्म काम नगर्ने अडान लिइरहेका छन् । सचिव बेल्वासेले मजदुरको रकम सरकारले व्यहोर्ने भएपनि स्थानीय ठेकेदारको भने दिन नसकिने प्रस्ट पार्नुभयो । स्थानीय ठेकेदारको माग सम्बोधन नभए मेलम्चीको काम अघि बढाउन सहज नहुने उहाँको भनाइ छ ।
छलफलमा खानेपानी मन्त्रालयका सचिव बेल्वासे, मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यप्रसाद कँडेल, कर्मचारी र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (९केयुकेएल)का प्रतिनिधि सहभागी थिए ।
सांसदले इटालियन ठेकेदार कम्पनी सीएमसीले छोडेपछि यत्तिको समयसम्म किन काम नगरेको, गुणस्तरिता नभएको, स्थानीय मजदुर र ठेकेदार भुक्तानीको विषय राखेका थिए ।
बैठकमा लेखराज भट्ट, राजेन्द्रकुमार केसी, सूर्यप्रसाद पाठक, मिना बुढाथोकी, प्रेम आले लगायतले बोलेका थिए । सचिव बेल्वासेले सिनो हाइड्रोसँगको सम्झौता अन्तिम चरणमा पुगेको पनि बताउनुभयो । सिआईएन







