संविधान दिवस कर्मकाण्डि नभै प्रभावकारी रुपमा मनाउँः मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
भदौ १७, २०७६

संविधान दिवसको अवसरमा प्रदेश तीन सरकारले विविध कार्यक्रम गर्ने भएको छ ।

सोमबार प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस मनाउन मुल समारोह समिति समेत गठन गरिएको छ । दिवसलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु समेत निर्माण गरिएका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको संयोकत्वमा प्रचार प्रसार उपसमिति, सामाजिक विकास मन्त्री युबराज दुलालको संयोजनमा रचनात्मक क्रियाकलाप व्यबस्थापन समिति, प्रदेश तीनका मुख्य न्यायधिवक्ता ओम थपलियाको संयोजकत्वमा विचार गोष्ठि उपसमिति, जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलालको संयोजकत्वमा राजनितिक दल समन्वय तथा जनपरिचालन उपसमिति, हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबहादुर महतको  संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज तथा प्रभातफेरी व्यवस्थापन समिति निर्माण गरिएको छ ।

दिवसमा सरसफाइ, परिसम्बाद, खेलकुद कार्यक्रम, दीपावली, बढाई कार्यक्रम, विभिन्न धार्मिक स्थलमा दीपावली, प्रभातफेरी, गीत तथा नृत्य प्रस्तुत, बृक्षरोपण, रक्तदान, मकवानपुरगढिमा नेपालको बिशाल झण्डा झण्डोत्तोलन तथा मुख्यदिन बृहत कार्यक्रम गरिने भएको छ ।

बैठकमा मुख्यमन्त्री पौडेलले संविधान दिवस कर्मकाण्डि नभै प्रभाबकारी बनाउने भन्दै जिम्मेवारी बाँडफाँड अनुसार काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

संविधान दिवस  इतिहास भएकाले यसलाई झल्काउने गरि मनाउने उहाँको भनाइ थियो । दिवस भव्यताका साथ मनाउन सम्पूर्णलाई आग्रह समेत गर्नुभयो । 

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रमुख सचिव तोयम राय, नेकपा प्रदेशका प्रमुख सचेतक रामेश्वर फुयाल, मुख्य न्यायधिवक्ता ओम थपलिया, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रालयका सचीवहरु, योजना आयोगका सदस्यहरू, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरी हुमागाई लगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*