प्रदेश तीनमा सवारी खरिदमा मात्रै २७ करोड खर्च  

छहारी संवाददाता
भदौ १७, २०७६

सम्झना घिमिरे/ प्रदेश तीन सरकार अन्तर्गतका मन्त्रालय सहित ११ वटा सरकारी कार्यालयहरूले आर्थिक बर्ष ०७५/०७६ मा २७ करोड ७७ लाख भन्दा बढीको सवारी साधन खरिद गरेका छन् ।

प्रदेश तीनका मन्त्रालय सहित जिल्ला अन्तर्गतका कार्यालयहरुले सय भन्दा बढी सवारी साधनको लागि २७ करोड ७७ लाख ६५ हजार रुपैया खर्च गरेका हुन् ।

सबैभन्दा बढी प्रदेश सभा सचिवालयले ६ करोड ३३ लाख ५० हजारमा ८ वटा स्कारपियो, १ वटा टाटा स्ट्रोङ गाडि, १२ वटा मोटरसाईकल, ५ वटा स्कुटर खरिद गरेको छ । 

यस्तै भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४ करोड ५० लाखमा ३ वटा जिप, ७ वटा मोटरसाइकल, २ वटा स्कुटर तथा जिल्ला कार्यालय अन्तर्गत १ वटा माटो परिक्षण भ्यान र ४ वटा एनिमल एम्वुलेन्स खरिद गरेको जनाएको छ ।

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले २ करोड ४० लाख रूपैयामा ३ वटा स्कारपियो, ५ वटा मोटरसाईकल ३ वटा स्कुटर खरिद गरेको छ ।

सामाजिक मामिला तथा कानुन मन्त्रालयले २ करोडमा २ वटा स्कारपियो १ वटा सुमो तथा १ वटा कार खरिद गरेको जनाएको छ ।

उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयले २ करोड ४८ लाखमा ५ वटा स्कारपियो, ८ वटा टिभियस मोटरसाईकल खरिद गरेको छ । स्कारपियो भन्दा महङ्गो पर्ने निसानको १ वटा गाडि मुख्य न्यायधिबक्ताको कार्यालयले खरिद गरेको छ ।

यस्तै प्रदेशका सबै मन्त्रालय तथा कार्यालयहरुले गरि २४ भन्दा बढी स्कारपियो खरिद गरेका छन् ।

यी कार्यालयहरुले कार ३ वटा, सुमो एउटा, टाटा स्ट्रोम ३ वटा, एनीमल एम्बुलेन्स ४ वटा, जिप ३ वटा, माटो परिक्षण भ्यान एउटा, मोटरसाइकल ४४ वटा भन्दा बढी र स्कुटर १६ वटा खरिद गरेका छन् ।

प्रदेश सरकार स्थापना र सञ्चालनको शुरुवात भएकोले सवारी खरिद बढी भएको र आगामी बर्ष सवारी खरिद घट्ने मन्त्रालयहरुले दाबी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*