महिलाहरुले ऋषि पञ्चमी मनाउँदै

छहारी संवाददाता
भदौ १७, २०७६

आज हिन्दू महिलाहरुले ऋषि पञ्चमी मनाउँदै छन् ।

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन ।

महिलाले आज बिहानै उठेर स्नान गरी हिजाको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन । दतिवन स्वास्थ्यका लागी फाइदाजनक रहेको चिकित्सकहरुले बताएका छन् ।

हरितालिका तीजको व्रत एवं पूजा आजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन छ । तर ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा।डा रामचन्द्र गौतमले बताउनुभयो  ।

रजस्वलाका समयमा कुनै गल्ती भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*