गाई हत्यामा संलग्न मेयर राणालाई कारबाही गर्न माग

नेपाल भेटेरीनरी एशोसिएशनले गाई हत्यामा संलग्न रहेको दाबी गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणालाई तत्काल कारबाही गर्न माग गरेको छ ।
एशोसिएशनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले पशु हत्या गर्नेमाथि तीन वर्षसम्म कैद सजाय समेतको व्यवस्था कानुनमै उल्लेख गरिएको भन्दै हत्यामा संलग्न भएको आरोप लगाउँदै मेयर राणालाई कडा कानुनी कारबाही गर्न माग गर्नुभएको हो ।
आज काठमाडौँमा पत्रकार सम्मेलन गरी उहाँले सुर्खेतमा गरिएको गाई हत्यामा संलग्न अन्यको पनि पहिचान गरी कारबाही गर्न सरकारलाई सचेत गराउनुभयो ।
अध्यक्ष श्रेष्ठले घटनामा संलग्नमाथि तत्काल कारबाही नगरे सरकारविरुद्ध नै आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिनुभयो ।
त्यसैगरी एशोसिएशनले खोटाङको दिक्तेल बजारमा कुकुरको हत्या गरिएको भन्दै हत्यामा संलग्नमाथि पनि तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ । नेपाल विश्व पशु स्वास्थ्य संगठनको पनि सदस्य राष्ट्र भएकाले कुनै पनि पशुमाथि कुटपीट गर्न समेत नपाउने एशोसिएशनको तर्क छ ।







