उपनिर्वाचनका लागि दल दर्ता गराउन राजनीतिक दललाई आयोगको आग्रह 

छहारी संवाददाता
भदौ १७, २०७६

निर्वाचन आयोगले आउँदो मंसिर १४ गतेका लागि तय भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गराउन राजनीतिक दललाई आग्रह गरेको छ ।

आयोगले आज एक सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको हो । आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि यही भदौ मसान्तसम्मको समय दिएको छ ।

यो अवधिमा दलको लेखापरीक्षण लगायतका आवश्यक कागजात पेस गरेर दर्ता प्रक्रियामा सहभागी हुन सबै दललाई आग्रह गरेको छ ।

नेपालको संविधानको धारा दुइ सय ७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा निर्वाचनपूर्व दल दर्ता गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार उपनिर्वाचनका लागि दल दर्ता आग्रह गरिएको आयोगले जनाएको छ । आयोगकाअनुसार २०७४ को निर्वाचनमा सहभागी नभएका नयाँ दलका लागिमात्र दल दर्ता आह्वान गरिएको हो ।

यसअघिको निर्वाचनमा सहभागी भइसकेका दलले भने उपनिर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्दैन । निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेकाले उपनिर्वाचनका लागि यो दल पनि निर्वाचन आयोगमा दर्ता हुनुपर्नेछ ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टीले पनि उपनिर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्नेछ ।

यसअघि, २०७४ मा तीन तहमा निर्वाचन भएको थियो । तर, विविध कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५० स्थान हाल रिक्त   छन् ।

जनप्रतिनिधिविहीन बनेका स्थानमा उपनिर्वाचनमार्फत् पूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगले मंसिर १४ गते निर्वाचन गर्ने घोषणा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*