आज तीजको विशेष दिन, शिवालयमा भक्तजनको घुइँचो

आज हरितालिका तिज हिन्दू महिलाहरुले उत्सवका रुपमा मनाउँदैछन ।
पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लागेको छ । आज व्रत बसी शिव पार्वतीको पूजाआजा गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । व्रतालुहरु आज विहानै पूजाआजाका लागि शिव मन्दिरमा पुगेका छन् ।
आज पशुपतिनाथ मन्दिरमा पुगेका भक्तजनका लागि आज चारवटा मार्गको व्यवस्था गरिएको छ । दर्शनार्थीले छिटो मन्दिरमा दर्शन गर्न सकुन भनेर बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन ।
भक्तजनले बढिमा दुई घण्टाभित्र दर्शन गरी फर्कन सक्ने कोषले दाबी गरेको छ । गाडी पार्किङका लागि तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरीपारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भाग छुट्याइएको छ ।
अहिले कुनै पनि गाडीको बाटो परिवर्तन नगरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सरकारले महिला कर्मचारीका लागि आज सार्वजनिक बिदा समेत दिएको छ ।
यही अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपि शर्मा ओलीले शुभकाना व्यक्त गर्नुभएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ।
तीजका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तीज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि कामना गर्नुभएको छ ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयसम्म आर्थिक–सामाजिक अवसरहरुबाट वञ्चित सबैका लागि सारभूत समानताको प्रत्याभूति गर्दै जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको संविधानलाई कार्यान्वयन गर्दै पर्याप्त कानुनहरु बनिसकेको बताउनुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले तीजका अवसरमा नेपाली हिन्दु महिलालाई शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि शुभकामना व्यक्त गर्दै तीज नेपाली समाजमा ऐतिहासिक महत्व बोकेको पर्व भएको बताउनु भएको छ ।







