आज दर खाने दिन

हिन्द' नेपाली महिलाको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज विभिन्न मीठा परिकारका साथ दर खाइदैछ ।
दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूल लगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।
दर खाएको भोलीपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन रहेको छ । हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ ।
परापूर्व कालमा देवी पार्वतीले शीवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन रहेको छ ।







