पुर्व राजाकाे जग्गामा अाैधाेगिक क्षेत्र बन्ने

छहारी संवाददाता
भदौ ११, २०७६

पूर्व राजा वीरेन्द्र शाहको नाममा रहेको साढे ३४ बिघा जग्गामा औद्योगिक क्षेत्र निर्माण गर्ने प्रस्तावको योजना बनाएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले त्यतिकै खेरा गएको जग्गालाई आम्दानी हुने काममा लगाउनु पर्ने नगरप्रमुख देवकुमार सुवेदीले बताए । 

‘प्रयोगबिहीन हुँदै आएको जग्गामा औद्योगिक क्षेत्र बिस्तार गर्ने गरी नगरपालिकाले उद्योगी, व्यापारी तथा प्रदेश मन्त्रालयबीच छलफल भएको छ ।’

२०६३ सालपछि सरकारले राजपरिवारको नाममा रहेको जग्गा तथा भौतिक संरचना स्वतः नेपाल ट्रष्टको स्वामित्वमा हुने व्यवस्था ऐनमार्फत गरे पनि सुर्खेतमा रहेको जग्गा अहिलेसम्म ट्रष्टले आफ्नो नाममा ल्याउन सकेको छैन । कोहलपुर–सुर्खेत रत्नराजमार्ग र भेरी नदीसँग जोडिएको, सुर्खेत उपत्यकाको उच्च स्थानमा रहेको जग्गा बसोबासका लागि उचित मानिदै आएको छ ।

यो जग्गा विस २०२९ सालमा राजाले क्षेत्रीय स्तरको दरबार निर्माण गर्ने भन्दै छुट्याएको जिल्ला विकास समिती सुर्खेतका पूर्व सभापति बसन्त कुमार थापाले बताए ।

सुर्खेत उपत्यकाको दक्षिण पूर्वी क्षेत्रमा रहेको जग्गा देउती बज्यै सामुदायिक वन र शिवशक्ति सामुदायिक वन उपभोक्ता समितीमार्फत संरक्षण हुँदै आएको छ । पूर्वराजाको नाममा रहेको जग्गा प्रयोगबिहीन भएको छ । 

भूमिसुधार मन्त्रालय तथा भूमिसुधार विभागको चलानी नं. २६५/०३३/०३४ को मिति २०३३ चैत्र ३० को पत्र बमोजिम प्रिन्ट नक्शालाई सक्कल नक्शा मानी तत्कालीन राजा वीरेन्द्रको नाममा जग्गा कायम गरिएको श्रेस्तामा उल्लेख गरिएको नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र श्रेष्ठले बताए । 

पूर्व राजाको नाममा हालको वीरेन्द्रनगर नगरपालिका, १० अन्र्तगत लाटीकोइलीमा करिब दुई लाख ३३ हजार वर्गमिटर जग्गा २०३४ साल बैशाख २ गते पूर्वराजा वीरेन्द्रको नाममा कायम भएको जिल्ला नापी कार्यालय सुर्खेतको तथ्याङ्कमा उल्लेख छ ।

खगेन्द्र भट्टराई (नयाँ पत्रिका)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*