आन्तरिक उडान गर्नेले एक घण्टा अघि विमानस्थल पुग्नुपर्ने

काठमाडौं विमानस्थलको आन्तरिक उडानमा नियम परिवर्तन भएको छ ।
विमानस्थलले यात्रुको सुरक्षा जाँच प्रक्रिया लम्ब्याएको कारण उडान समयभन्दा एक घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने भएको हो ।
विमानस्थलमा नियम परिवर्तन भएको भन्दै एयरलाइन्सले यात्रुका लागि सूचना जारी गरेका छन् ।
अन्तर्राष्ट्रिय उडानजस्तै सुरक्षा जाँच गर्ने नियम विमानस्थलले लागू गरेका कारण यात्रुलाई एक घण्टा अघि विमानस्थल पुग्न यति एयरलाइन्सले आग्रह गरेको छ । आन्तरिक उडानका लागि सामान्यतया ३० मिनेटअघि यात्रुहरू पुगे पनि हुन्थ्यो ।
पछिल्लो समय काठमाडौं विमानस्थलमा नियम परिवर्तन भएपछि आन्तरिक टर्मिनलमा यात्रुको लामो लाइन लाग्ने गरेको छ ।
यसअघि दुइ ठाउँमा सुरक्षा जाँच गरिने भए पनि टिकेट हेरेरमात्र पठाउने गरिएको थियो । अबदेखि एक्सरे मेसिन राखेर विस्तृत जाँच गर्ने भएकाले समय धेरै लाग्ने एयरलाइन्सले जानकारी दिएका छन् ।







