श्रम गर्न चाहने महिलाको लागि विश्वासको वातावरण बनाइनु पर्छः सांसद जुनेली श्रेष्ठ

प्रदेश तीनकी सांसद जुनेली श्रेष्ठले महिलाहरु घर भित्रै सिमित हुने हो भने सरकारको समृद्ध नेपाल सुखी नेपाली भन्ने नाराले सार्थकता नपाउने बताउनु भएको छ ।
श्रृजनशील महिला उद्यमी मेला २०७६ को समापन कार्यक्रममा बोल्दै उहाँले आर्थिक विकाससंगै देशको समृद्धीका लागि आ–आफ्नो क्षेत्रबाट गर्न सकिने पहल गर्नु पर्ने बताउनु भयो ।
उहाँले महिलाले आफ्ना आवश्यक्ताहरु आफैले पुरा गर्न सक्ने अवस्थाको श्रृजना गर्नु सकैको दायीत्व रहेको औंल्याउनुभयो ।
केन्द्र देखि स्थानिय सरकारसम्मको उदेश्य पनि एउटै हुनु पर्ने भन्दै सांसद श्रेष्ठले प्रत्येक नागरिकलाई आर्थिक रुपमा सम्पन्न बनाउने र उनिहरुको अनुहारमा खुशी ल्याउने योजना लिएर अघि बढेको जिकिर गर्नुभयो ।
श्रम गर्न चाहने महिलाको लागि विस्वासको वातावरण सिर्जना गर्नु महत्वपूर्ण कुरा रहेको भन्दै उहाँले आर्थिक अवस्था कमजोर भएका महिलालाइ बिना धितो ऋण दिने व्यवस्था राज्यले गर्नु पर्ने विचार व्यक्त गर्नुभयो ।
महिलाहरु इमान्दार हुने भन्दै सांसद श्रेष्ठले महिलाले लिएको ऋण इमान्दारीता पूर्वक चुक्ता गर्ने भएकाले उनिहरुको कामलाई अनुगमन गरी ऋण दिँदा फरक नपर्ने बताउनु भयो ।
प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश तीनका सांसद मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष कृष्ण अग्रवाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई लगायतको आतिथ्यता रहेको थियो ।
महिला उद्यमी व्यवसायी संघ मकवानपुरकी अध्यक्ष शुसिला पाण्डे मानन्धरको अध्यक्षता मेला समापन भएको भएको हो ।







