मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवस भव्य बनाइने

सरकारले मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औँ राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न सचेतनात्मक कार्यक्रम गर्न आह्वान गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाल सरकार, विकास साझेदार संस्था, गैरसरकारी संघसंस्था, नागरिक समाज, सामाजिक अभियन्ता एवं सरोकारवाला सबैमा उक्त दिवसको अवसरमा सप्ताहव्यापीरूपमा विभिन्न सचेतनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गर्दै अभियानकै रुपमा कार्यक्रम गरी मानव बेचविखनजस्तो जघन्य अपराधलाई निर्मूलीकरण गर्न आह्वान गरेको हो ।
यही भदौ २० गते मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३औँ राष्ट्रिय दिवस देशैभरि विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले जानकारी दिनुभयो । यस वर्षको नारा ‘सरकारको प्रतिबद्धता स् मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ रहेको छ ।
उक्त नाराले बोकेको भावनाअनुरुप दिवसको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न सचेतनात्मक कार्यक्रम आयोजना गर्न मन्त्रालयले आग्रह गरेको हो ।
सन् २००२ मा काठमाडौँमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित ‘महिला तथा बालबालिका बेचविखनविरुद्धको सार्क महासन्धि, २००२’ लाई २०६३ भदौ २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसद्बाट अनुमोदन भएको थियो ।
उक्त दिनको स्मरणमा प्रत्येक वर्ष भदौ २० गते मानव बेचविखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस मनाउने थालिएको हो । सिआईएन







