दुईतिहाइ त सक्यो, औपचारिक विसर्जनको घोषणा हुन मात्र बाँकी छः राप्रपा महामन्त्री लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनले दुईतिहाइको सरकार ढलेको घोषणा हुन मात्र बाँकी रहेको बताउनु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई हेटौडामा सम्बोधन गर्दै महामन्त्री लिङदेनले भन्नुभयो– 'दुईतिहाइ त सक्यो, अब औपचारिक विसर्जनको घोषणा हुन मात्र बाँकी छ ।'
दुईतिहाइको सरकारले चुनावका बेला बाँडेको सपनामा तुषरापात भएको जनताले बुझिसकेको भन्दै उहाँले जनताको मरेको आशा अब आफुहरुले जगाउनु पर्ने बताउनुभयो ।
कम्युनिष्टको विकल्प कांग्रेस कदापी नहुने भन्दै उहाँले हरेक परिक्षामा फेल भएको कांग्रेस पनि अब उठ्न नसक्ने तर्क गर्नुभयो ।
ठुलो पार्टी भनेर अब डराउनु पर्ने अवस्था नरहेको भन्दै महामन्त्री लिङदेनले भन्नुभयो– 'हात्ती दुब्लाएको जस्तो देखिँदैन नि, एकै चोटी ढलेपछि मात्र थाहा हुन्छ कि यो त गएछ । कांग्रेस पनि भित्र भित्रै खोक्रो भइसक्यो ।'
राप्रपा सक्रिय नभएको खण्डमा देशमा अराजकताले ठाउँ लिने भन्दै उहाँले कार्यकताहरुलाई सचेत गराउनुभयो ।
राप्रपालाई संगठित बनाउन तर्फ विशेष रुपमा लाग्न आग्रह गर्दै उहाँले कमल थापा जस्तो नेता जन्माएको जिल्लाका कार्यकर्ताहरुको अनुहारमा निरासा नसुहाउने बताउनुभयो ।
कार्यक्रममा राप्रपाका जिल्ला नेता सिताराम बर्तौला, जिल्लाका सहसचिव भिम बहादुर सिंतान, महिला संगठन जिल्ला अध्यक्ष बालकुमारी डल्लाकोटी, धार्मिक संगठनका केन्द्रिय सदस्य लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम केन्द्रिय सदस्य एवं प्रदेश तीनका उपाध्यक्ष तथा जिल्ला अध्यक्ष मधु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।







