आज श्रीकृष्ण जन्माष्टमी, देश भरका कृष्ण मन्दिरमा भक्तजनको भीड

श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाउँदैछन् ।
आज देश भरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । आजको दिन देशभरिका कृष्णमन्दिरमा श्रीकृष्णको पूजा–आराधनाका साथै ‘व्रत’ बसी रातभर जाग्राम बस्ने चलन छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मीएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।







