गुण नियन्त्रण कार्यालय हेटौंडामा ७९ मुद्दा दर्ता, एउटाको पनि फैसला भएन

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले आज कार्यालयको वार्षिक प्रगती समिक्षा गरेको गरेको छ ।
हेटौडामा आज भएको पत्रकार भेटघाट तथा समिक्षा कार्यक्रममा आर्थिक वर्ष २०७५/७६ मा विभिन्न समयमा गरिएको बजार अनुगमनका क्रममा ७९ ओटा मुद्दा दायर भएको जानकारी गराइएको छ । यद्यपी अहिलेसम्म कुनै पनि मुद्दाको फैसला भने भएको छैन ।
कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत सिर्जना महर्जनले वार्षिक प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो ।
उहाँले यस आर्थिक वर्षमा हेटौंडाका विभिन्न ४ सय ६५ स्थानमा अनुगमन गरेको र ७९ वटा मुद्दा दर्ता भएको जानकारी दिनुभयो । यद्यपी अहिलेसम्म कुनै पनि मुद्दाको फैसला नभएको उहाँले बताउनुभयो ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय हेटौंडाका प्रमुख बरिष्ठ खाद्य अधिकृत सोमकान्त रिजालले देश अहिले प्रदेशमा विभाजन भएकाले कार्य क्षेत्र पनि खुम्चिएको भन्दै सिन्धुली, चितवन र मकवानपुर गरी ३ जिल्लामा मात्र क्षेत्राधिकार रहेको बताउनुभयो ।
कार्यालयले गत आर्थिक वर्षमा मकवानपुरका ३ स्थानिय तह थाहा नगरपालिका, हेटौंडा उपमहानगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका ३ होटल, रेष्टुरेन्टलाई हरियो दुई तारा भएको लोगो त्यसैगरी थाहा नगरपालिका, हेटौंडा उपमहानगरपालिका र इन्द्रसरोवर गाउँपालिका मा रहेका १९ वटा होटल, रेष्टुरेन्टलाई हरियोमा एक तारा लोगो प्रदान गरेको थियो ।
यस्तै तिनै स्थानका १७ होटल, रेष्टुरेन्टलाई पहेंलो लोगो र थाहा नगरपालिकामा १०, हेटौंडा उपमहानगरपालिकामा १७ र इन्द्रसरोवर गाउँपालिका १२ गरी जम्मा ३९ होटल, रेष्टुरेन्टलाई बिभिन्न तहको लोगो प्रदान गरेको थियो ।
यस्तै कार्यालयले गत आर्थिक वर्षमा २१६ पटक बजार अनुगमन, २ सय ७४ पटक खाद्य उद्योगको अनुगमन, १ सय ३९ पटक होटल, रेष्टुरेन्ट र मिठाई पसलको अनुगमन, २५ पटक संयुक्त अनुगमन र १० पटक दाना उद्योगको अनुगमन गरेको जनाएको छ ।







