रविको रिहाइको माग गर्दै दिनहुँ प्रदर्शन, आज पनि बुद्ध चोकमा कोणसभा (फोटो फिचर)

संचारकर्मी रवि लामिछानेलाई अदालतले पुनः हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएपछि उनका समर्थक थप आक्रोशित भएका छन् ।
देशभर जस्तै हेटौंडाका युवाहरुले पनि लामिछानेको रिहाइको माग गर्दै दिनहुँ विरोध प्रदर्शन गर्दै आइरहेका छन्।
यसैक्रममा आज पनि युवाहरुले हेटौंडाको बुद्ध चोकमा कोणसभा गर्दै विरोध जनाएका छन् । युवाहरुले नेपालको राष्ट्रिय झण्डा सहित विरोध गर्दै लामिछानेको रिहाइको माग गरेका छन् ।
प्रहरीले न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासगं कार्यक्रमका प्रस्तोता लामिछाने सहित ३ जनालाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानविनका लागी भन्दै विहीबार पक्राउ गरेको थियो ।
पक्राउ गरेको भोली पल्टै शुक्रबार अदालतमा उपस्थित गराइ हिरासतमा राख्न ५ दिनको समय लिएको जिल्ला प्रहरी कार्यालयले मंगलबार अनुसन्धान नसकिएको भन्दै चितवन जिल्ला अदालतबाट पुनः ५ दिनको समय थप गरी हिरासतमा राखेको छ ।







