डेंगु नियन्त्रण गर्न हेटौंडाका मेयर, प्रजिअ, स्वास्थ्य निर्देशक सक्रिय

डेंगु नियन्त्रणका लागि डेंगु सार्ने लामखुट्टेको वासस्थान नष्ट गर्न हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको नेतृत्वमा अभियान नै सञ्चालन गरिएको छ ।
हेटौंडा ४ का विभिन्न स्थानमा आज पनि लामखुट्टे वस्ने वासस्थानमा लार्भा र प्युपा नष्ट गर्न पानी जमेका भाडा खन्याउने, टायर संकलन गर्ने काम सम्मपन्न भएको हो ।
मेयर महत सहित प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महासाखाका प्रमुख शतिस बिष्ट, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, नगर प्रहरी, महिला स्वास्थ्य स्वयंसेबिका, जनपथ प्रहरी लगायतकाको सहभागितामा अभियान संचालन गरिएको हो ।
हेटौंडामा डेंगु का २ सय ५१ जना भन्दा बढी बिरामी देखा परिसकेको छन् । हेटौंडा ४ मा सवै भन्दा वढी डेंगुका बिरामी देखा परेका छन् ।
यसको नियन्त्रणका लागि टोल विकास संस्था, वडा कार्यालय, नगर प्रहरी, जनपथ प्रहरी, ससस्त्र प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका लगायतकाको दिनहुँ सक्रिय सहभागिता रहेको मेयर महत बताउनुहुन्छ । डेंगु नियन्त्रण गर्न पानी भरिएका भाँडा, ड्रम, खन्याएर खाली राख्नुपर्ने उहाँले बताउनुभयो ।
यसअघि अफिसर्स क्लबको सहयोगमा डेंगु रोगको नियन्त्रण, रोकथामका लागि सरकारी कार्यालय हरुमा पनि सचेतना अभियान गरिएको छ ।
अभियानमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, अफिसर्स क्लव मकवानपुरका अध्यक्ष रामकृष्ण थापा लगायतकाको टोलीले अभियान गरेको उपमहानगरपालिकाका स्वास्थ्य साखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।
लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्नका लागि विशेषगरी सफा पानी जमेर रहेका पुराना फुटेका भांडा, टायर, टिनका बट्टा, गमला, पानी टंकी, फ्रिज आदि खोजी खोजी पानी नजम्ने अवस्था बनाउन अभियान शुरूगरिएको हो ।







