हेटौडा १० टिसिएनमा टोनी हेगनको नाममा पार्क निर्माण गर्दैछौंः मेयर महत
हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौडा १० टिसिएनमा बन्न लागेको ओभर हेड पानी ट्याङकी वरपरको स्थानमा पार्क निर्माण गर्ने बताउनु भएको छ ।
ओभर हेड पानी ट्याङकीको आज शिलान्यास गर्दै मेयर महतले यस्तो बताउनु भएको हो । हेटौडाको परिकल्पनाकार टोनी हेगनको नाममा पार्क निमार्ण गर्न लागिएको भन्दै उहाँले तर त्यसका लागि स्थानियको सल्लाह सुझाव लिएर मात्र अघि बढ्ने बताउनु भएको छ ।
सहिद स्मारकको डिजाइन गर्ने आशिष अधिकारीलाई यो पार्कको डिजाइनको जिम्मा दिने भन्दै उहाँले उक्त स्थानमा पुरा हेटौडा दृश्यावलोकन गर्न मिल्ने भ्यु टावर पनि निर्माण गरिने जानकारी दिनुभयो ।
पार्क निर्माणका लागि उपमहानगरपालिकाको आग्रहमा प्रदेश सरकारले १० लाख रुपैया छुट्याएको भन्दै मेयर महतले बाँकी अपुग रकम उपमहानगरपालिकाले बेहोर्ने बताउनुभएको छ ।
उहाँले अबको दुइ वर्षमा हेटौडाका वासिन्दाले उमालेर वा फिल्टर गरेर पानी पिउनु पर्ने बाध्यता हट्ने गरि काम भइरहेको पनि बताउनु भएको छ ।
४ लाख ५० हजार क्षमताको ओभर हेड पानी ट्याङकी नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा निर्माण हुन लागेको हो ।







