निष्पक्ष छानविनको माग गर्दै रवि लामिछाने समर्थकले गरे हेटौडामा प्रदर्शन

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या सम्बन्धमा अनुसन्धन गर्न जिल्ला प्रहरी कार्यालय चितवनले संचारकर्मी रवि लामिछाने सहित ३ जनालाई हिरासतमा राखेपछि सर्वत्र विरोध भइरहेको छ ।
चितवन लगायतका विभिन्न जिल्लामा स्थानियहरु रविको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । रवि लामिछानेलाई हिरासतमा राखेको बिरोधमा हेटौडाका केहि युवाहरु पनि प्रदर्शनमा उत्रिएका छन् ।
युवाहरुले आज हेटौडाको मुख्य बजार क्षेत्रमा विरोध स्वरुप मोटरसाइकल र्याली आयोजना गरेका हुन् । मोटरसाइकल र्याली हुप्राचौरबाट कान्तिलोकपथ, बुद्ध चोक हुँदै सिमा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
युवाहरुले लामिछाने दोषी पाइए कार्बाही होस्, विभिन्न बहानामा फसाउने कार्य नहोस् भन्दै नारा लगाएका थिए ।
उनीहरुले नेपालको राष्ट्रिय झण्डा सहित “आइ एम विथ रवि लामिछाने“ लेखिएको प्ले कार्ड बोकेर विरो जनाएका थिए ।
न्युज २४ टेलिभिजनबाट प्रसारण हुने सिधा कुरा जनतासंग कार्यक्रमका प्रस्तोता लामिछाने, संचारकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले छानविनका लागी भन्दै विहीबार पक्राउ गरेको हो ।
तीनै जनालाई शुक्रबार चितवन जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमित दिएको थियो ।







