डेंगु नियन्त्रणका लागि स्वयम् पनि सचेत हुनु जरुरी (तस्विरहरु)

छहारी संवाददाता
साउन ३०, २०७६

डेंगु नियन्त्रणका लागि सर्वसाधरण स्वयम् सचेत हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाले आयोजना गरेको डेंगु रोग सम्बन्धी पत्रकारहरुसंग अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।

सरकारले घर घरमा गएर डेंगुबाट बच्न डेंगु सार्ने लामखुट्टे नियन्त्रणको उपाय, डेंगु लागिसकेपछि गर्नु पर्ने स्वास्थ्य उपचार लगाएतका विषयमा जनचेतना जगाउने काम गरेपनि केहि समयमै सर्वसाधारणले विर्सने गरेको उनिहरुको भनाई छ ।

कार्यक्रममा प्रदेश तीनका सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिपेन्द्र सुवेदीले विषेशगरी पानी जम्ने स्थान, बस्तुहरुमा डेंगु सार्ने लामखुट्टे बस्ने भएकाले त्यस्ता स्थानमा रहेको लामखुट्टेको लार्भा, प्युपा खोजेर नष्ट गर्न सुझाव दिनुभयो ।

उहाँले टोलीले अभियानका क्रममा नष्ट गरिसकेपछि अब पूर्णरुपमा डेंगु फैलाउने लामखुट्टे नियन्त्रण भइसक्यो भन्ने भ्रम सर्वसाधरणमा पर्ने भएकाले पनि समस्या भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– 'टोली फर्केको एक हप्ता नवित्दै उहाँहरु फेरी पहिलेकै अवस्थामा फर्किनुहुन्छ । जमेको पानी फाल्नु हुन्न, घर वरपर, गमला, फ्रीज, ट्याङकी लगायतमा पानी जमेको हुन्छ तर नियन्त्रण भइसक्यो भन्ने सोचका कारण फेरी पनि डेंगु फैलाउने लामखुट्टे सक्रिय हुने मौका पाउँछ । जुन गम्भिर विषय हो ।'

उहाँले सार्वजनिक स्थानमा भएका प्लाष्टिकका भाडा, झोला, प्याकेटहरुमा पनि डेंगु सार्ने लामखुट्टे बस्ने भएकाले सबै मिलेर नष्ट गर्न लागि पर्नुपर्ने औंल्याउनुभयो । उहाँले विद्यार्थीहरुमा समेत यसको चेतना फैलाउने अभियान चलाउन सके थप प्रभावकारी हिुने बताउनु भयो ।

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाका निमित्त निर्देशक शम्भु ज्ञवालीले कुनैपनि स्थान वा बस्तुमा पानी जम्न नदिनु नै डेंगु नियन्त्रणको मुख्य उपाय रहेको बताउनुभयो ।

कार्यक्रममा निर्देशनालयका डाक्टर अर्जुन सापकोटा, किटजन्य रोग नियन्त्रण तथा अनुंधान केन्द्रका शिशिरकुमार पन्त, हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्की लगायतकाले डेंगु नियन्त्रणमा भएका प्रयास, अपनाउनु पर्ने सावधानीका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*