अमेरिकी फौजी किरा नेपाल प्रवेश

छहारी संवाददाता
साउन २९, २०७६

नेपालमा अमेरिकी फौजीकिराको प्रवेश भएको राष्ट्रिय बिरुवा संरक्षण संगठनले जनाएको छ ।

संगठनको बैठकले नेपालमा अमेरिकी फौजीकिरा प्रवेश गरेको आधिकारीक घोषणा गरी सम्बन्धित सरोकारवालाईहरुलाई जानकारी गराउने निर्णय गरेको छ ।

यो किराले विशेष गरी मकै बालीमा असर गर्ने र मकै उत्पादन घटाउने हुँदा यसको समयमा नै व्यवस्थापन गर्न विशेष समिति समेत गठन गरिएको छ ।

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नवलपुर तथा चितवन जिल्लाका विभिन्न स्थानहरुको मकै बाली परीक्षण गर्दा फौजिकिराको समस्या देखिएको हो ।

यो किराको व्यवस्थापन गर्न किसानलाई किराको व्यवस्थापनको उपाय सिकाउने विषयमा पनि कार्यक्रम ल्याउने तयारी छ । फौजिकिराको नियन्त्रण नगरेमा नेपालको मकै बालीको उत्पादन घट्ने केन्द्रले जनाएको छ ।

फौजी किराको उत्पत्ति र फैलावट

मकैबाली सखाप पार्ने यो अमेरिकी रैथाने फौजी किरा हो । अमेरिकापछि यो किरा सन् २०१६ मा पश्चिमी अफ्रिकामा देखिएको थियो । त्यसको दुई बर्वामै यो किरा पूरा अफ्रिकाभर फैलिएको वैज्ञानिकहरुले बताएका छन् ।

अफ्रिकालगत्तै सन् २०१८ मा यो किरा एसियामा पहिलो पटक भारतको कर्नाटक राज्यमा देखिएको थियो । यो किराको पुतली एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकहरुको दाबी छ ।

फौजी किराको यही क्षमताका कारण गएको वर्ष भारतका १९ प्रान्तमा फैलिसकेको थियो । भारतसँगै श्रीलंका, बंगलादेश र म्यानमारमा पनि यसको प्रकोप देखिएको वैज्ञानिकहरुले बताएका छन ।

त्यसलगत्तै सन् २०१९ को सुरुवातमा थाइल्याण्ड, चीन र भियतनाममा पनि देखिएको थियो । यसक्रममा नेपालका विभिन्न जिल्लामा समेत देखिएपछि नेपाल कृषि अनुसन्धान परिषद नार्कका किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटले अनुसन्धान सुरु गर्नु भएको हो ।

अनुसन्धानका क्रममा नेपालमा यो किराले मकैमा क्षति गरेको भेटिएको थियो । नार्कअन्तर्गतको किट विज्ञान महाशाखाले पत्रकार सम्मेलन गरेरै नेपालमा यो किरा प्रवेश गरेर मकैबालीमा नोक्सानी पुर्‍याएको घोषणा गरेका थिए ।

वैज्ञानिकहरुले आफ्नो अनुसन्धानको रिपोर्ट बुझाएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पनि अनुसन्धान थाल्यो । झण्डै तीन महिना लामो अनुसन्धानका क्रममा केही नमुना संकलन गरेर केन्द्रले परीक्षणका लागि भारत पठायो ।

भारतको बंग्लोरमा गरिएको परीक्षणमा पनि फौजी किरा नेपालमा रहेको पुष्टि भएपछि केन्द्रले सोमबार बैठक बसेर यसको औपचारिक घोषणा गरेको हो । साभारः सिआईएन र उज्यालो अनलाइनबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*