प्रदेशकाे नीति निर्देशन अाए क्रसर उधाेग संचालन हुन्छ : खुलाल

मकवानपुरका क्रसर उधाेगहरूलाई संचालनमा मात्र राेक लगाइएकाे तर स्टक सामानहरूकाे विक्रि वितरणमा भने कुनै राेक नलगाइएकाे जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताउनुभयाे ।
मापदण्ड नपुगेका क्रसर उद्योगहरु संघ र प्रदेश सरकारको ठाेस नीति निर्देशन नअाएसम्म संचालन हुन नदिने र सम्पर्ण सराेकारवालाहरूकाे निर्णयबमोजिम नै बन्द भएको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताउनुभएको छ ।
बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख खुलालले मकवानपुरमा सञ्चालित क्रसर उद्योगहरु जिल्ला समन्वय समितिले बन्द गरेको भन्ने भ्रम फैलिएको बताउँदै प्रदेश सरकारकै निर्देशन अनुसार असार मसान्तपछि क्रसरहरु बन्द भएको स्पष्ट पार्नुभयो ।
खुलालले क्रसर उद्योगहरु दर्ता गर्ने, बन्द गर्ने अधिकार समन्वय समितीसंग नभएको बताउनुभयो । समितीसंग मापदण्ड अनुसार सञ्चालन भए नभएको अनुगमन गर्ने मात्र अधिकार रहेको उहाँले बताउनुभयो ।
क्रसर उद्योगसँग भएका स्टक सामान बिक्रि गर्ने निर्णय स्थानीय तहसँग नै हुने हुँदा स्थानीय तहले नै त्यसको व्यवस्थापन गर्नुपर्ने खुलालको भनाई छ ।
आगामी साउन २६ गते जिल्ला सभा आयोजना हुने समेत समन्वय समितीका प्रमुख खुलालले जानकारी दिनुभयो । जिल्ला सभा मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने उहाँले बताउनुभयो ।







