डुबान समस्या समाधानका लागि काँग्रेसको यस्तो माग

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाढी तथा डुबान समस्याका बारेमा भारतसँग कुटनीतिक तबरले वार्ता गरि दीर्घकालिन समाधान निकाल्नुपर्ने धारणा राख्नुभएको छ ।
बाढीपहिरो तथा डुबानका बारेमा पार्टीले संसदमा राखेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै देउवाले कोसी बाँध सुरु भएदेखि नै बसेका नेपालीलाई भारतले हटाउने भनिरहेको भन्दै यस विषयमा पनि सरकारले भारतसँग कुटनीतिक वार्ता गर्नुपर्ने बताउनुभयो ।
सभापति देउवाले आफूले बाढीप्रभावित क्षेत्रको भ्रमण गर्दा पीडितहरू घरवारविहीन भएको, खाद्यान्न अभाव भएको, नदी कटान भएको, लत्ताकपडा अभाव भएको जस्ता समस्या पाएको उल्लेख गर्दै सरकारको भने उपस्थिति नभएको बताउनुभयो ।
सरकारका मन्त्रीहरु हेलिकप्टरबाट मात्रै अनुगमन गरेर फर्किएको प्रति सभापति देउवाले असन्तुष्टि जनाउनुभयो । जिल्लाका रेडक्रस, केही गैह्र सरकारी सस्था लागि परेका भएपनि सरकारको ध्यान नगएको देउवाको भनाइ थियो ।







