टेलिमेडिसिन सेन्टरमा दिइने स्वास्थ्य सेवा प्रभावकारी बन्दै

पर्वतको विकट गाउँमा एक दशक पहिले स्थापना गरिएको टेलिमेडिसिन सेन्टरमा दिइने स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ ।
फलेवास नगरपालिका–८ ठानामौला गाउँमा २०६६ देखि सञ्चालनमा आएको टेलिमेडिसन सेन्टरमा स्वास्थ्य सेवा प्रभावकारी भएपछि बिरामीको भीड लाग्न थालेको हो ।
स्थानीय चार भञ्ज्याङ सेवा केन्द्रले टेलिमेडिसिन सेवा सञ्चालन गरेको यस सेन्टरमा इन्टरनेटको माध्यमबाट बेलायतमा रहेका विशेषज्ञ डाक्टरले स्वास्थ्य सेवा दिँदै आएका छन् ।
स्वास्थ्य केन्द्रले स्काइपमार्फत बिरामीका समस्या डाक्टरसँंग राख्ने र विशेषज्ञको सल्लाहमा औषधि उपचार हुने गरेको छ ।
हाल स्वास्थ्य केन्द्रबाट छारेरोग, मानसिक समस्या, पिसाब, छालारोग र नसाका जटिल समस्या भएका बिरामीले स्वदेशी तथा विदेशी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा लिइरहेको चार भञ्ज्याङ स्वास्थ्य केन्द्रका अध्यक्ष धर्मलाल गुरुङले जानकारी दिनुभयो ।
सेवा प्रभावकारी भएपछि हाल जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्ला बागलुङ, गुल्मी, कास्की, तनहुँ र लमजुङबाट पनि सेवा लिन बिरामी पुग्ने गरेका छन् । केन्द्रमा दैनिक २५ देखि ३० जनासम्म बिरामीले सेवा लिन आउने गरेको संस्थाका सिनियर अहेब अधिकृत पदम सापकोटाले बताउनुभयो ।
उहाँका अनुसार टेलिमेडिसिन सेवा अन्तर्गत एकै महीनामा तीन हजार १०० बिरामीले सेवा लिएको तथ्याङ्क समेत छ ।
बेलायतमा रहेका नेपालीको सङ्घठन चार भञ्ज्याङ तमु समाज युकेको पहलमा चार भञ्ज्याङ स्वास्थ्य केन्द्रले सञ्चालन गर्ने गरेको प्राथमिक स्वास्थ्य सेवा र टेलिमेडिसिन सेवा दिनका लागि सेन्टरको स्थापना गरिएको थियो ।
यस केन्द्रमा टेलिमेडिसिन सेवाका अतिरिक्त हरेक वर्ष विदेशी विशेषज्ञ डाक्टरको उपस्थितिमा निःशुल्क स्वस्थ्य शिविर पनि आयोजना गर्ने गरिएको छ भने केन्द्रले स्वास्थ्य जनचेतनाका लागि स्वास्थ्य शिक्षा अभियान पनि सञ्चालन गर्दै आएको छ । आजको अर्थ अनलाइनबाट







