नेता बानियाँद्वारा गरिब बालकलाई आर्थिक सहयोग

वी.पी. कोईरालाको ३७ औं स्मृतिदिवसमा हेटौंडा अस्पतालमा फलफुल वितरण गर्न गएका नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले एक आर्थिक हैसियत नभएका बालकको उपचारको लागि आर्थिक सहयोग गर्नुभएको छ ।
भीमफेदी गाउँपालिका ३ बेसरघारीका १३ वर्षीया सुशन थोकरको खुट्टा भाचिएकोले आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा कठिनाई भईरहेको बताएपछि नगद ५ हजार दिई अस्पतालका प्रमूख डाक्टर प्रविण श्रेष्ठ र अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेललाई बालकको उपचारमा लाग्ने रकम मिना गरिदिन आग्रह गर्नुभयो ।
त्यसैगरी नेता बानियाँले हेटौंडा अस्पतालको स्वास्थ्य अवस्था, भौतिक पूर्वाधार, नवनिर्मित भवनहरु र अस्पतालको आवश्यक्ताको बारेमा राख्नुभएको जिज्ञासाको उत्तर दिंदै अस्पतालका प्रमूख डा.श्रेष्ठले निरिक्षणसमेत गराउनुभएको थियो ।
निरिक्षणमा नेता बानियाँ, १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, नेपाली कांग्रेसका जिल्ला तहका नेताहरु तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।







