लोक सेवा आयोगको विज्ञापन फिर्ता लिन माग गर्दै प्रर्दशन

लोक सेवा विज्ञापनको विरोधमा आज पनि काठमाण्डौंमा प्रर्दशन भएको छ ।
प्रर्दशनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीका फोटा जलाइएका छन् । लोक सेवा आयोगले समावेशी सिद्धान्त विपरीत स्थानीय तहमा विज्ञापन खुलाएको विरोधमा तराई मधेश राष्ट्रिय परिषदले विरोध जनाउँदै प्रदर्शन गरेको हो ।
भृकुटीमण्डपदेखि सुरू भएको प्रर्दशन ¥याली शहीदगेट, असन हुँदै बांगेमुढासम्म पुगेको थियो ।
बांगेमुढामा पुगेर प्रदर्शनकारीले प्रधानमन्त्री ओली, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमीसुधार तथा सहकारी मन्त्री पद्मा अर्याल र सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका फोटा जलाएका हुन् ।
मन्त्रीको तस्वीर जलाएपछि आन्दोलनकारीले इन्द्रचोकमा गई कोणसभा गरेका थिए ।
पाँच सय ५५ स्थानीय तहका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसका आधारमा आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदका लागि विज्ञापन खुलाएको थियो ।
उक्त विज्ञापन संविधानले सुनिश्चित गरेको समावेशी सिद्धान्तविपरीत रहेको भन्दै फिर्ता लिन दबाबमूलक कार्यक्रम गरिँदै आएको छ ।







