देशभर बाढी पहिरोमा परि २१ जनाको मृत्यु, सबै भन्दा धेरै क्षति प्रदेश १, २ र ३ मा

छहारी संवाददाता
असार २८, २०७६

लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परी मुलुकभरमा २१ जनाको मृत्यु भएको छ ।

अझै आठ जना बेपत्ता छन् भने बाढी र पहिरोमा परी नौ जना घाइते भएका छन् । सात जनाको भने शकुसल उद्धार गरिएको छ ।

काठमाडौँमा र खोटाङमा तीन/तीन जना, भोजपुर, काभ्रे, ओखलढुंगा र झापामा दुई/दुई जना, रामेछाप, इलाम, मकवानपुर, सिन्धुली, धादिङ, ललितपुर, र पर्सामा एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौतहटमा दुई, मकवानपुर, सुनसरी, पाँचथर, महोत्तरी, मोरङ र काठमान्डुमा एक÷एक जना गरी आठ जना बेपत्ता भएका छन् ।

काठमाडौंको मुलपानीमा पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भई कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, शर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् ।

यस्तै ललितपुरमा पहिरोले पुरिँदा ११ वर्षीय बालक सरोज जिम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य एक व्यक्तिको पनि मृत्यु भएको छ ।

धादिङको गजुरी गाउँपालिका–४ दरिमटारमा घर भत्किँदा ८ वर्षीया अस्मिता तामाङको मृत्यु भएको छ भने मकवानपुरको थाहा नगरपालिका– ३ की बालिका १४ वर्षीया सञ्चना बलामीको पनि बाढीले बगाउँदा मृत्यु भएको छ ।

यस्तै काभ्रेको बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् ।

यसैगरी रामेछापमा पनि पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ ।

भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको हो । यस्तै टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको छ ।

पर्सामा बाढीले बगाएर पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको ज्यान गएको छ भने सिन्धुलीको फिक्कल गाउँपालिका–१ झिल्के नयाँ गाउँमा पहिरोले गोठ भत्किँदा ३५ वर्षीया हेमकुमारी सुनुवारको मृत्यु भएको छ ।

खोटाङमा रेखा राई, रोमन राई र रोहन राईको पनि ज्यान गएको छ । वेपत्ता भएका उनीहरुको ५ घण्टापछि शव फेला परेको हो ।

अविरल वर्षले देशभर ६ हजार भन्दा धेरै नागरिक विस्थापित भएका छन् । सबै भन्दा धेरै क्षति प्रदेश १, २ र ३ मा भएको छ । गृहमन्त्रालयले वर्षा र बाढीबाट प्रभावितहरुको उद्धार कार्य तिब्र पारेको दाबी गरेको छ ।

देशभर भएको बर्षाका कारण ठाउँ, ठाउँमा मानविय तथा भौतिक क्षति भएको र त्यसको लगत संकलन तथा उद्धार र राहत वितरणको काम सुरु भएको गृहमन्त्रालयका सूचना अधिकारी तथा उपसचिब उमाकान्त अधिकारीले जानकारी दिनुभयो । सीआईएन

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*