मकवानपुरमा ५९ प्रतिशत मत खस्यो

जिल्लाभरका केन्द्रबाट मतपेटिका संकलन कार्य जारी 
छहारी संवाददाता
फाल्गुन २१, २०८२

प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भएको निर्वाचनमा मकवानपुरमा ५९ प्रतिशत मत खसेको छ।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार जिल्लामा रहेका कुल ३ लाख १५ हजार ४ सय ३४ मतदातामध्ये ५९ प्रतिशत अर्थात् करिब १ लाख ८६ हजार ५ सय ५१ मत खसेको हो । यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पनि मकवानपुरमा झण्डै यही हाराहारीमा मत खसेको थियो।

मतदान जिल्लाभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

मतदान सम्पन्न भएसँगै अहिले जिल्लाभरका मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम भइरहेको छ। हेटौँडा उपमहानगरपालिकाभित्रका मतदान केन्द्रका मतपेटिका मतगणना स्थल भुटनदेवी माध्यमिक विद्यालयमा ल्याउने क्रम जारी रहेको छ भने अन्य स्थानका मतपेटिका पनि आजै ल्याइने बताइएको छ।

भौगोलिक अवस्थाका कारण मकवानपुरका केही मतदान केन्द्रका मतपेटिका भने छिमेकी जिल्लाको सडक प्रयोग गरेर ल्याउनुपर्ने अवस्था रहेको छ। प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार क्षेत्र नम्बर–१ अन्तर्गत पर्ने बकैया गाउँपालिकाका तीन मतदान केन्द्रका मतपेटिका बारा र रौतहट हुँदै मतगणना स्थल ल्याइनेछ ।

बकैया–१ स्थित सरस्वती माध्यमिक विद्यालय मोरङे र वडा नम्बर–२ को बालविकास निमावि सरस्वती भमरा मतदान केन्द्रका मतपेटिका रौतहटको चपुर हुँदै ल्याइनेछ। त्यस्तै बकैया–६ स्थित राष्ट्रिय कालिका प्राथमिक विद्यालयको मतपेटिका बारा जिल्लाको निजगढ हुँदै ल्याइने निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो ।

यसैगरी, क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने राक्सिराङ गाउँपालिकाका चार मतदान केन्द्रका मतपेटिका चितवन हुँदै ल्याइदैछ । वडा नम्बर–६ का राष्ट्रिय माध्यमिक विद्यालय सिलिङे र आयुर्वेद औषधालय सिलाधुनी, वडा नम्बर–७ का सातकन्या आधारभूत विद्यालय र दाम्राङ प्राथमिक विद्यालय तथा वडा नम्बर–८ स्थित ठूलो तोड्के मावि मतदान केन्द्रका मतपेटिका चितवनको राप्ती नगरपालिका–भण्डारा हुँदै मतगणना स्थल ल्याइनेछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुक्रबार बिहान ७ बजे सर्वदलीय बैठकपछि मतगणना सुरु गरिनेछ । मकवानपुरका दुई वटा निर्वाचन क्षेत्रमा गरी ४४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*