बिहिवार देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा एकै चरणमा मतदान हुँदै
प्रतिनिधिसभाको निर्वाचनका लागि १६५ वटा निर्वाचन क्षेत्रमा भोली (बिहिबार) एकै चरणमा मतदान हुँदैछ । यो निर्वाचनबाट प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सांसद निर्वाचित हुने छन् ।
२ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा आवश्यक सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्वाचन व्यवस्थापनसँग सम्बन्धित सम्पूर्ण कार्य सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार मकवानपुरका १ सय ६७ मतदानस्थल अन्तर्गतका ३ सय ७४ वटै मतदान केन्द्रमा बुथ निर्माण, घेराबार तथा लाइन व्यवस्थापनको काम सकिएको छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, किरियापुत्री तथा असक्त मतदाताका लागि छुट्टै लाइनको व्यवस्था गरिएको छ ।
यसैगरी महिला र पुरुष मतदाताका लागि पनि अलग–अलग लाइनको व्यवस्था गरिएको छ । मतगणनास्थलको तयारी समेत पूरा गरिएको छ ।
मकवानपुरमा निर्वाचन क्षेत्र नम्बर १ बाट २३ जना र निर्वाचन क्षेत्र नम्बर २ बाट २१ जना गरी कुल ४४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
क्षेत्र नं. १ मा नेपाली काँग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, नेकपा एमालेबाट रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक सिंहले उम्मेदवारी दर्ता गराएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश गौतम, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती, नेपाल मजदुर किसान पार्टीबाट रञ्जना सुवाल, नेकपा माओवादीबाट महेश नेपाली, जनता समाजवादी पार्टीबाट रुपक लामा, एकल निर्वाचन चिन्हसहित जनता समाजवादी पार्टीबाट दीपक सिलवाल, नेशनल मंगोल अर्गनाइजेशनबाट युवराज स्याङतानले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी, अमर दंगाल, अमिक परिवार, टिका प्रसाद चौंलागाईं, प्रमिला कुमारी खतिवडा, मठु पुलामी मगर, राकेश कुमार शर्मा, राजकुमार खड्का, राजाराम बोगटी, शिला सुवेदी र ज्ञानसागर लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसबाट जिल्ला पार्टी सभापति समेत रहेका बुद्ध लामा, नेकपा एमालेबाट महेश वर्तौला र नेकपाबाट लवशेर विष्टले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबहादुर थोकर, श्रम संस्कृति पार्टीबाट युनिश लामा स्याङतान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रशान्त उप्रेती, उज्यालो पार्टी नेपालबाट प्रविण कुमार स्याङतान, राष्ट्रिय जनमोर्चाबाट निर बहादुर सिन्तान, प्रलोपा पार्टीबाट सन्तोष विष्ट, नेशनल मंगोल अर्गनाइजेशनबाट हिरालाल स्याङतान, नेपाल मजदुर किसान पार्टीबाट सरोज तामाङ, नेकपा माओवादीबाट राम घलान वाटर तथा संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, आम जनता पार्टीबाट सुर्य राई र जनता समाजवादीबाट छविलाल वाइवाले एकल चनाव चिनह लिएर उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर २ बाट अमृत वल, कृष्णा राम श्रेष्ठ, प्रतिक्षा बानियाँ, रमेश आचार्य र सितामाया वलगरि ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
मतगणना भुटनदेवी मा.वि. मा हुने
मतदान सम्पन्न भएलगत्तै मतपेटिका भोली नै मतगणनास्थल भूटनदेवी माध्यमिक विद्यालयमा ल्याउने व्यवस्था मिलाइएको छ । निर्वाचन क्षेत्र नम्बर १ को ‘ए’ ब्लक र निर्वाचन क्षेत्र नम्बर २ को ‘बी’ ब्लकमा मतगणना हुने गरी गणनास्थल व्यवस्थित बनाइएको छ ।
अन्य जिल्ला हुँदै ल्याउनुपर्ने ८ वटा मतदान केन्द्रका मतपेटिका भोलि बेलुकासम्म ल्याइने गरी व्यवस्था मिलाइएको जनाइएको छ । मतगणनास्थलको सुरक्षाका लागि तारजाली तथा सिसी क्यामेरामार्फत निगरानी गरिने छ ।
उम्मेदवारका प्रतिनिधिले तारजाली बाहिरबाट मतगणना अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ । मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा गरिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।
जिल्लामा कुल ३ लाख १५ हजार ३ सय ३४ मतदाता
जिल्लामा कुल ३ लाख १५ हजार ३ सय ३४ मतदाता रहेका छन् । मकवानपुरमा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । राष्ट्रसेवक कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालय र भीमफेदी कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ।
जिल्लामा ३ हजार ७ सय १ अस्थायी मतदाता रहेका छन् । भीमफेदी कारागारमा रहेका ९ सय ६८ कैदीबन्दीमध्ये दुई महिला सहित ७५ जनाको नाम मतदाता नामावलीमा समावेश रहेको छ । अस्थायी मतदाताले समानुपातिक प्रणालीतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचन २०७९ पछि मकवानपुरमा १४ हजार ६०१ जना मतदाता थपिएका छन् । सबैभन्दा धेरै मतदाता हेटौँडा उपमहानगरपालिकामा ७ हजार १६३ मतदाता थप भएका छन् ।
मनहरी गाउँपालिकामा एक हजार ४६८, थाहा नगरपालिकामा एक हजार ४१५ मतदाता थपिएका छन् भने बकैया गाउँपालिकामा ८१७, बागमती गाउँपालिकामा ८४०, मकवानपुरगढी गाउँपालिकामा ७५४ र भीमफेदी गाउँपालिकामा ६९३ मतदाता थपिएका छन् ।
त्यस्तै, इन्द्रसरोवर गाउँपालिकामा ३७३, कैलाश गाउँपालिकामा ३६३ र राक्सिराङ गाउँपालिकामा २३५ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता विवरण अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ र निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । जिल्लाभर कुल मतदातामध्ये महिला एक लाख ५३ हजार ३७६, पुरुष एक लाख ६१ हजार ९५३ र अन्य ५ जना रहेका छन् ।
तीन हजारभन्दा बढी कर्मचारी परिचालन
मकवानपुरका १७६ मतदानस्थलअन्तर्गत ३७४ मतदान केन्द्रमा स्वयंसेवकसहित तीन हजार ३६६ कर्मचारी परिचालन गरिने भएका छन् । निर्वाचन अवधिभर दुई हजार २४४ कर्मचारी र एक हजार १२२ जना स्वयंसेवक खटिने प्रदेश निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो ।
प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृतसहित आयोगबाट छ जना कर्मचारी खटाइनेछन् । मतदानस्थलमा तीन जना स्वयंसेवक परिचालन गरिने व्यवस्था गरिएको छ । जनशक्ति व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको र खटाइने कर्मचारीलाई आवश्यक तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ ।
चार हजारभन्दा बढी सुरक्षाकर्मी
निर्वाचन शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन करिब चार हजार २०० सुरक्षाकर्मी परिचालन गरिने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी ९जनपथ० तथा करिब दुई हजार २०० निर्वाचन प्रहरी परिचालन गरिनेछन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जनपथ प्रहरीको एकिन सङ्ख्या केही दिनमै टुङ्गो लाग्ने जानकारी दिनुभयो । सुरक्षा निकायले संवेदनशील क्षेत्रमा विशेष निगरानी, नियमित गस्ती तथा प्रचारप्रसार गतिविधिको अनुगमन गर्ने जनाएको छ ।
मतदानस्थलको वर्गीकरण
जिल्लामा कुल १६७ मतदानस्थलमध्ये १९ अतिसंवेदनशील, ६० संवेदनशील र ८८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । अतिसंवेदनशील सूचीमा २६ मतदान केन्द्र परेका छन् । बकैया गाउँपालिकामा पाँच मतदानस्थल अतिसंवेदनशील रहेका छन् भने राक्सिराङ, बागमती, भीमफेदी, मनहरी र कैलाश गाउँपालिकाका केही स्थल पनि सो सूचीमा समावेश छन् ।
संयुक्त अनुगमन टोलीले मतदानस्थलको भौतिक अवस्था, पहुँचमार्ग, सञ्चार सम्पर्क, मतदानकक्ष व्यवस्थापन तथा सुरक्षा संवेदनशीलताको मूल्याङ्कन गरिसकेको छ । भीमफेदीको एक मतदानस्थलमा सडक पहुँच नभएकाले पैदल मार्ग प्रयोग गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो ।
गत भदौ महिनामा जेन जी आन्दोलन भएपछि प्रतिनिधिसभा भङ्ग भएको थियो। त्यसैले निर्धारित समयभन्दा अगाडि नै अहिले निर्वाचन हुन लागेको हो ।








