प्रदेश युवा सम्मेलन दोस्रो दिनः नीति, नेतृत्व र युवा सहभागिता विषयक प्यानल छलफल

बागमती प्रदेशको राजधानी हेटौँडामा जारी तेस्रो प्रदेश युवा सम्मेलनको दोस्रो दिन ‘नीति, नेतृत्व र युवा सहभागिता’ विषयक प्यानल छलफल भएको छ ।
पत्रकार दिल भूषण पाठक सहजिकरण गर्नुभएको छलफलमा नेपाली कांग्रेसका सहमहामन्त्री एवम् प्रतिनिधिसभा सदस्य जीवन परियार, सत्तारुढ दलका मुख्य सचेतक महेश वर्तौला, रुकुमका युवा नेता पुर्णबहादुर घर्ती प्यानलिष्टका रुपमा रहेका थिए । राजनीतिमा पुस्तान्तरण, नेतृत्व र नीति निर्माणमा युवा सहभागिता लगायतका विषयमा विमर्श गरिएको थियो ।
छलफलमा सहभागि नेताहरूले युवाको शक्ति अपरिहार्य भएको बताएपनि राजनीतिमा पुस्तान्तरण कहिले भन्ने प्रश्नमा स्पष्ट जवाफ दिन सकेनन् ।
नेपाली काँग्रेसका सहमहामन्त्री परियारले सामाजिक तथा राजनीतिक परिवर्तनमा युवाको भूमिका निर्णायक रहेको बताउनुभयो । भविष्यमा युवाहरु मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिको रूपमा उभिन सक्ने बताउनुभयो । परिवर्तनको मूल संवाहक राजनीति नै भएकाले युवाले राजनीति प्रती घृणा नभई सक्रिय सहभागिता जनाउनु पर्ने धारणा राख्नुभयो ।
त्यस्तै, मुख्य सचेतक वर्तौलाले युवा मैत्री कानून निर्माण भएकै कारण आफूले महत्वपूर्ण जिम्मेवारी पाएको तर्क राख्नुभयो । वर्तौलाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली युवाप्रति सकारात्मक रहेको समेत बताउनसभयो । देशको स्वाभिमान रक्षा गर्न युवाहरु एकजुट हुनुपर्नेमा उहाँको जोड थियो ।
नेकपा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्तीले युवाहरुले प्रश्न मात्रै सोध्ने होइन अब नैतिक धरातलमा रहेर जवाफ दिनसक्नु पर्ने बताउनुभयो । नेर्तत्व निर्धारण उमेरले नभई विचार, लोकतान्त्रिक पद्धति र क्षमताले हुने उहाँको धारणा थियो ।
छलफलमा सहभागी युवाहरुले युवा नीतिको प्रभावकारी कार्यान्वयन नभएको, महिला, दलित र युवाले अपेक्षाअनुसार प्रतिनिधित्व नपाएको, युवा नेतृत्व तहमा नपुगेको, राजनीतिमा पुस्तान्तरणको खाँचो रहेको बताएका थिए ।
प्रदेश युवा परिषद्,बागमतीको आयोजनामा जारी सम्मेलनले सिर्जनशीलता, उद्यमशीलता र युवा सहभागिता प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।