पञ्चवर्षीय योजना निर्माण गरी कार्यान्वयन गर्ने सिद्धार्थ ल क्याम्पसको योजना

छहारी संवाददाता
बैशाख २६, २०८२

हेटौँडा २ स्थित सिद्धार्थ ल क्याम्पसको प्रथम क्याम्पस सभा सम्पन्न भएको छ ।

बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानिंयाको प्रमुख आतिथ्यता एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाको सभाध्यक्षतामा क्याम्पसले शुक्रबार सभा गरेको हो । सभामा सञ्चालक समितिकी अध्यक्ष लामाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

क्याम्पसले आन्तरिक परीक्षा सुव्यवस्थित गर्दै परीक्षाफलको विश्लेषण गर्ने नीति लिएको छ । पठनपाठनको प्रक्रियामा आधुनिक प्रविधिको प्रयोग गरी कानुन र कला दुबै विषयका लागि योग्य, अनुभवी, प्रध्यापकहरुको व्यवस्थामा जोड दिने अध्यक्ष लामाले बताउनुभयो ।

विद्यार्थीहरुलाई पढाईमा प्रेरित गर्नको लागि कानुन विज्ञ व्यक्तित्वहरु एवम् पूर्व तथा बहालवाला न्यायधीशहरुलाई ‘भिसिट प्रोफेसर’ को रुपमा आमन्त्रित गरी कक्षा लिन लगाइने समेत भएको छ ।


‘विद्यार्थीहरुको अन्तर्निहित प्रतिभा प्रफुष्टनका लागि अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिने छ । ’ उहाँले भन्नुभयो, ‘ प्रशासनिक क्षमता अभिवृद्धिको लागि आवश्यकता अनुसार तालिम गोष्ठीको समेत आयोजना गरिनेछ ।
त्यसैगरी क्याम्पसले विद्यार्थीहरुलाई वकालत र सार्वजनिक रुपमा बोल्ने सीप विकास गर्न मुट कोर्ट प्रतियोगिताहरु भाग लिन प्रोत्साहन गर्ने नीति बनाएको छ ।
त्यसैगरी क्याम्पसले अलग्गै कम्पाउण्डमा क्याम्पस सञ्चालन गर्ने योजना समेत बनाएको छ । ‘ हाल विद्यालय र कलेजको एकै कम्पाउण्ड भित्र कक्षा रहेको छ , त्यसलाई आगामी दिनमा अलग्गै कम्पाउण्डमा क्याम्पस सञ्चालन गरिनेछ । ’ अध्यक्ष लामाले भन्नुभयो ।
अध्यक्ष लामाले क्याम्पसको पञ्चवर्षीय योजना निर्माण गरी कार्यान्वयन गरिने समेत उल्लेख गर्र्नुभयो ।
त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि बाँनियाले जिल्लामा नै स्नातक तहको कानून अध्ययनको आवश्यकता देखेर लामो संघर्षपछि क्याम्पस स्थापना गर्न सफल भएको बताउनुभयो । हेटौंडामा बारा, पर्सा, रौतहट, सिन्धुली र काभ्रेपलाञ्चोक लगायतका जिल्लाबाट समेत विद्यार्थी भर्ना हुने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँले उपमहानगरलाई वार्षिक १९ जना गरिब, जेहेन्दार र दलित विद्यार्थीलाई निःशुल्क शिक्षाको लागि बजेटको व्यवस्था गर्न आग्रह समेत गर्नुभयो ।


कार्यक्रममा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु), संविधानसभा सदस्य तथा मकवानपुर क्याम्पसका अध्यक्ष अनन्त पौडेल, कैलाश गाउँपालिकाका अध्यक्ष लोक मोक्तान, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतले मन्तव्य व्यक्त राखेका थिए । ६० जनाको कोटा रहेको यस क्याम्पसमा स्नातक तह प्रथम वर्षमा २९ जना विद्यार्थी अध्ययनरत रहेका छन् । सिद्धार्थ माध्यमिक विद्यालयको भौतिक संरचना प्रयोग गरी हेटौंडा उपमहानगरपालिकाको व्यवस्थापन र सञ्चालनमा सिद्धार्थ ल क्याम्पस स्थापना भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*