मकवानपुर प्रहरीद्वारा चोरीको आरोपमा पक्राउ परेका नौजना सार्वजनिक
जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीको आरोपमा पक्राउ परेका नौ जना सहित चोरीका सामान सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरिक्षक बिश्वराज खड्काले बिहिबार पत्रकार सम्मेलन गरी लागूऔषध ओसारपसार र चोरी आरोपमा पक्राउ परेका नौ जना सहित चोरीका सामान सार्वजनिक गर्नु भएको हो । उहाँका अनुसार प्रहरीले १०५ किलो ६९ ग्राम लागू औषध गाँजा सहित बसामाडी– ३ बस्ने २४ वर्षका पन्चलाल थिङ पक्राउ परेका हुन् ।
हेटौंडा– १९ नेवारपानी स्थित पुर्व पश्चिम सडकखण्डको रजैया जाने जंगल छेउमा रोकी राखेको बागमती प्रदेश ०१–०२५ च ७८७१ नं को योद्धा पिकअप गाडीमा लुकाइ ल्याएको उक्त परिमाणको लागू औषध गाँजा बरामद भएको हो ।
यस्तै प्रहरीले हेटौंडा–९ लामसुरे स्थित हेटौंडा सिमेन्ट उद्योगबाट चोरी भएका बिजुलीको तारहरु सहित ३ जना पक्राउ गरेको छ ।
चोरीमा संलग्न हेटौंडा– १२ बाट मनिराज थोकर, हेटौंडा– १३ बस्ने २८ वर्षिय सन्त बहादुर तितुङ र हेटौंडा– ४ स्थित फरेष्टी गेट नजिक कवाडी पसलका संचालक भारत मोतिहारी जिल्ला चिरैया थाना वडा नंबर– ७ बस्ने दिल खुश कुमार साह पक्राउ परेको प्रहरीले जनाएको छ ।
यस्तै हेटौडा–८ कर्णावती मार्ग स्थित शिव गौतमको निर्माणाधिन घरबाट बिजुलीको तारहरु चोरी भएको घटना सम्बन्धमा अनुसन्धानको क्रममा चोरीको सामान सहित हेटौंडा–८ कमाने बस्ने २६ वर्षिय सुमन राई , २५ वर्षिय को समिर घिमिरे र कमाने बिन्दबासिनी स्थितमा निर्माणाधिन चर्चको भवनमा राती सुतेको अवस्थामा २४ वर्षिय सुशान्त श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी हेटौंडा–८ क्याम्पा स्थित हेटौडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान र नगद २० हजार चोरी गर्ने हेटौंडाको कमाने बस्ने २४ वर्षिय सुशान्त श्रेष्ठ समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भईरहेका प्रहरीले जनएको छ ।
यसैगरी हेटौंडा–२ स्थित शान्तीटोल बस्ने राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नं को यामाहा कम्पनीको मोटरसाइकल चोरी गर्ने हेटौंडा–८ का २४ वर्षिय सुशान्त श्रेष्ठ पनि चोरीको मोटरसाइकल सहित पक्राउ परेका छन् ।
यसैगरी मकवानपुरगढि गाउँपालिका–२ शिखरकटेरी स्थित कान्तीलोक पथ सडकखण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा प्रदेश २–०१–००३ प ६१०५ नंबरको मोटरसाइकल चालक कञ्चनपुर जिल्ला बेलडी गाउँपालिका वडा नंबर–३ घर भई फाष्ट ट्रयाकमा वेल्डिङको काम गर्ने मिस्त्री २४ वर्षिय राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीलाई लेनडांडाबाट ३७ किलो सेतो धातुको बिजुलीको तार चोरी गरी हेटौडा तर्फ लादै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।