नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप फुटबल मंगलबार देखी सुरु हुँदै
नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साईड रनिङ शिल्ड फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ ।
हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हेटौडा ५ मा रहेको क्याम्पा रंगशालामा हुने प्रतियोगितामा १८ वटा क्लबहरुले सहभागिता जनाउने क्लबका कार्यवहाक अध्यक्ष नवराज बज्रचार्यले जानकारी दिनुभयो ।
प्रतियोगिताको तयारी करीब सकिएको भन्दै उहाँले मंगलबार बिहान ९ बजेदेखि खेलहरु सुरु हुने जानकारी दिनुभयो । यद्यपी खेलको औपचारिक उद्घाटन भने दिउँसो २ बजे हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गर्नुहुने बज्रचार्यले बताउनुभयो । स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा ४५ वर्ष उमेर माथिका पुर्व खेलाडीहरुको सहभागीता रहने उहाँले बताउनुभयो ।
प्रतियोगिताको विजेताले एक लाख एघार हजार एकसय १ रुपैयाँ र उपविजेताले पचपन्न हजार पाँच सय ५० रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । २६ गतेसम्म चल्ने प्रतियोगितामा करीब १४ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिता संचालनको लागि हेटौंडा उपमहानगरपालिकाबाट चार लाख र हेटौंडा स्कुल अफ म्यानेज्मेन्टबाट एक लाख रुपैयाँ सहयोग प्राप्त भएको र अन्य रकम भने आन्तरीक रुपमा व्यवस्थापन गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा दर्शकहरुलाई प्रवेश निशुल्क रहेको छ ।