बाल जीवन ज्योति माविको २९ औं अभिभावक भेला तथा ४ कोठे भवन उद्घाटन

छहारी संवाददाता
अशोज ६, २०७९

मनहरी गाउँपालिका–१ मकरीस्थित बाल जीवन ज्योति माध्यामिक विद्यालयको २९ औं अभिभावक भेला तथा ४ कोठे भवन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कालाखेतीले शिक्षा क्षेत्रको विकासको लागि जोड दिने बताउनुभएको छ । शिक्षा स्वास्थ्य गाउँपालिकाको प्राथमिकताको विषय रहेको उल्लेख गर्दै अध्यक्ष कालाखेतीले शिक्षाको सुधारका लागि आफू कटिबद्ध रहेको बताउनुभयो । पालिकाले आफ्नै बजेटमा उक्त विद्यालयका लागि एकजना शिक्षक उपलब्ध गराउने बताउनुभयो । गरीब तथा जेहेन्दार विद्यार्थीका लागि कक्षा १२ सम्म निःशुल्क पढाउने गाउँपालिकाले जिम्मेवारी लिएको कालाखेतीले बताउनुभयो ।

उक्त अवसरमा जिल्ला स्तरीय आयोजना कार्यान्वयन इकाई र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको आर्थिक सहयोगमा निर्माण गरिएको ४ कोठे पक्की भवनको उद्घाटन समेत गरिएको थियो । ६७ लाख रुपैयाँ लागतमा भवन निर्माण कार्य सम्पन्न भएको हो । विद्यालयमा ५ सय ४० विद्यार्थी अध्ययनरत छन् । विद्यालयले यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पढाइ सञ्चालन गरेको विद्यालयका शिक्षक डीबी अर्यालले बताउनुभयो ।

कार्यक्रममा आर्थिक वर्ष २०७८÷७९को विद्यालयको आय–व्यय प्रतिवेदन प्रस्तुन गर्नुका साथै विद्यालयका आगामी कार्ययोजनाको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा विद्यालयका लागि जग्गा दान गर्ने दाताहरुको नाम शिलालेखमा लेखीनुका साथै सम्मान समेत गरिउको थियो । कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सिता पुलामी मगर, गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटा, वडा नम्बर १ का वडा अध्यक्ष शिव खनाल , विद्यालयका शिक्षक, विद्यार्थी लगायत करिब ४ सय अभिभावकको उपस्थिती  थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*