हेटौंडामा वरिष्ठ कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ

हेटौंडामा वरिष्ठ कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम भएको छ । नेपाली लेखक संघ मकवानपुरको आयोजनामा कवि श्रेष्ठको एकल कविता साँझ गरिएको हो । कार्यक्रममा कवि श्रेष्ठले दर्जनौं कविता, गजल प्रस्तुत गरेका थिए ।
पोखरामा जन्मिएका वरिष्ठ कवि श्रेष्ठ नेपाली काव्य क्षेत्रका परिचित नाम हो । उनले कविता मात्रै होइन गीत, गजल र मुक्तकक्षेत्रमा पनि कलम चलाएका छन् ।
मकवानपुरमा साहित्य कार्यक्रमहरुलाई थप चलायमान गर्न कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम गरिएको नेपाली लेखक संघका अध्यक्ष छवि अनित्यले बताए ।
कवि श्रेष्ठले लेखेको चर्चित कविता आमा नेपथ्यका अमृत गुरुङले गाएका छन् । आमा, हिउँमा लेखिएका नामहरु, लाहुरे फूल म तिम्रो नाम फेर्न चाहान्छु लगायतका दर्जनौं कविताहरु कवि श्रेष्ठका चर्चित कविताहरु रहेका छन् ।
कवि तीर्थ श्रेष्ठको पछिल्लो चर्चित कविता संग्रह धर्सैधर्साको चक्रव्यूह नेपाली साहित्यको सर्वाधिक प्रसिद्ध पुरस्कार मदन पुरस्कारका लागि गुठीले २०७६ मा मनोनयन गरेको थियो ।
कार्यक्रममा मकवानपुर अग्रज स्रष्टा तुल्सी थापा लगायत मकवानपुरका विभिन्न साहित्यको विधामा कलम चलाउने साहित्यिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कवि श्रेष्ठले आफ्नो कविता बाचन गर्नुपूर्व साहित्यकार तथा प्राध्यापक निमेष निखीलले कवि श्रेष्ठको बारेमा चर्चापरिचर्चा गरेका थिए ।