पाँच कक्षा पछि कहाँ पढ्ने ?

सम्झना रिजाल
चैत्र ४, २०७७

हेटौंडा–१६ आकाशधाराकी १३ वर्षीया अनिशा योञ्जन आकाशधारा पानीसरा प्राथमिक विद्यालयमा कक्षा पाँचमा पढ्छिन् । उनलाई विद्यालय आउन जानै निकै समस्या पर्छ ।

विकट क्षेत्र भएकोले विद्यालय आउनै समय लाग्ने उनलाई घरको सबै काम भ्याएर विद्यालय आउन कठिन नै छ । तर पनि उनलाई विद्यालय आउन निकै डर लाग्छ । ‘मलाई घरबाट विद्यालयसम्म आउनै डर लाग्छ,’ आखाँभरी आँशु बनाएर उनले भनिन्,‘मलाई कसैले बलात्कार गरेर मार्छ कि भन्ने डर लाग्छ । घरबाट विद्यालय आउने बाटो निकै सुनसान् छ । साथीहरु हुँदा त डर लाग्दैन तर कहिलेकाँही एक्लै हुँदा निकै डर लाग्छ ।’

कक्षा पाँचमा अध्ययनरत विद्यार्थी उनलाई अझ धेरै पढ्न पनि मन छ तर पाँच कक्षा पढेपछि अगाडी पढाउन उनका अभिभावकको क्षमताले भ्याउँदैन । घरबाट टाढाको विद्यालय पठाउन उनको अभिभावकले सक्दैनन् । गाउँमा नजिकै थप अध्ययन गर्ने विद्यालय नहुँदा उक्त क्षेत्रका बालबालिकाहरु कक्षा पाँचबाट अघि पढ्न सक्दैनन् । यसै कारण उनीहरु सानै उमेरमा बिवाह गर्न बाध्य हुन्छन् । अर्की विद्यार्थी शुष्मा घलान पनि अझै पढ्न चाहान्छिन् । उनको पढाई पनि राम्रो छ । उनलाई पनि थप पढ्न समस्या नै छ ।

हेटौंडा उपमहानगरपालिकाको १६ नम्बर वडा आकाशधारामा रहेको आकाशधारा पानीसरा प्राथमिक विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । तर, शिक्षक भने ३ जना मात्रै छन् । त्यसैमाथी पनि प्रधानाध्यापकको विविध कामले गर्दा धेरै जसो विद्यालय बाहिर नै हुन्छन् । एउटै कोठामा दुई वटा कक्षाका विद्यार्थीहरु राखेर पढाउनुको विकल्प छैन । उक्त विद्यालयमा ९७ जना विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा पाँचसम्म मुस्किलले पढाई हुने उक्त क्षेत्रका विद्यार्थीहरुलाई त्यस पछिको पढाईका लागि भने अर्को जिल्ला जानु पर्ने बाध्यता रहेको छ । पाँच कक्षा पछि विद्यार्थीहरुलाई थप पढाईका लागि हेटौंडा–१६ हटियास्थित जनप्रिय माविमा चार घण्टा हिँडेर आउन पर्ने बाध्यता रहेको छ । यसको विकल्पमा बारा जिल्ला स्थित निजगढमा पुग्नु पर्ने विद्यालयकी शिक्षिका योगकुमारी मैनाली राईले जानकारी दिइन् ।

आकाशधारा पानीसरा प्राथमिक विद्यालयको भवन (तस्बिरः सम्झना रिजाल)
‘यस क्षेत्रमा कक्षा पाँचसम्म पढाइ सकेपछि बाँकी पढ्न कि त हटिया जानु पर्छ कि निजगढ,’ शिक्षिका राईले भनिन्,‘हटियासम्म पुग्न पनि चार घण्टा हिँड्न पर्छ । त्यहाँसम्म पुगेर पढाई गर्न यहाँका बालबालिकाहरुलाई समस्या नै छ। कि त निजगढ पुग्नु पर्छ । त्याहाँ पुग्न पनि २ घण्टा लाग्छ । यहाँका बालबालिबाहरुलाई पढाईमा ठूलो समस्या छ ।’ हटियास्थित जनप्रिय माविमा पुगेर पढ्ने विद्यार्थीको संख्या निकै कम हुने उनले बताइन् । ‘पाँच कक्षा पास गर्ने विद्यार्थीहरु ७ जना हुँदा २ जना जति मात्रै माथील्लो कक्षामा पढ्न पुग्छन्,’ उनले भनिन्,‘बाँकीले पढाई नै छोड्ने हो । यहाँको आर्थिक स्तर राम्रो भएको अभिभावकहरु पनि छैनन् । यसो हुँदा थप अध्ययन गर्न नपाउने अवस्था रहन्छ ।’

उक्त क्षेत्रमा बाल विवाहको पनि अधिक हुने गरेको उनले बताए । भौगोलिक विकटता र नजिकै अर्को विद्यालय नहुँदा पाँच कक्षा पढिसकेपछि विवाह गरिदिने प्रचलन बढी रहेको शिक्षिका राईको भनाई रहेको छ । उक्त विद्यालय भवन पनि जीर्ण छ । विद्यार्थीहरुलाई अध्यापन गराउन पनि समस्या रहेको शिक्षक प्रेमबहादुर विकले जानकारी दिए । ‘हामी यहाँ एउटै कोठामा दुई वटा कक्षाको पढाई गरिररहेका छौं,’ उनले भने, ‘विद्यालय भवन पनि जीर्ण छ । शिक्षकहरु पनि हामी ३ जना मात्रै छौं । ३ जना शिक्षकहरुले पाँच कक्षासम्मको सबै विषयहरु पढाउनु पर्ने बाध्यता रहेको छ ।’

उक्त विद्यालयहरुमा ४ जना शिक्षकहरु दरबन्दीमा रहेको भए पनि तीन जना मात्रै कार्यरत रहेका छन् । प्रधानाध्यापक पनि विद्यालयको प्रशासनिक काम र अन्य बाहिरी काममा बढी व्यस्त हुँदा समय दिन नसकेको उनले बताए । ‘बहुकक्षा प्रणालीअनुसार कक्षा सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ,’ शिक्षिका राईले भनिन्,‘एउटै कोठामा दुई वटा कक्षा सञ्चालन भइरहेको छ । सँगै एउटै समयमा अर्को कक्षामा पनि पुगेर पढाउनु पर्ने बाध्यता रहेको छ ।’ शिक्षकबाट पाउनु पर्ने समय विद्यार्थीहरुले नपाउँदा शिक्षण सिकाईको गुणस्तरमा कमी आएको उनले बताइन् ।
शिक्षकहरुलाई पनि विद्यालय पुग्नै कठिन हुने गरेको गुनासो गरेका छन् । स्थानीय शिक्षक नहुँदा विद्यालयमा निजी स्रोतबाट शिक्षक राख्न पनि समस्या भएको छ । त्याहाँ दरबन्दीमा रहेका विक बकैया गाउँपालिकाका हुन् भने राई हेटौंडा बजार क्षेत्रकी हुन् । उनी आफैं पनि १० बजे विद्यालय पुग्न विहान ६ बजे हिँड्छिन् ।

निजी स्रोतबाट शिक्षक राख्न पनि समस्या भएको शिक्षक विकले बताए । विद्यालयको आर्थिक स्रोत पनि कम रहेकोले पनि निजी स्रोतबाट शिक्षक राख्न नसकिएको उनले बताइन् । विद्यालयमा शिक्षक दरबन्दी मात्र नभई अन्य पूर्वाधारको पनि अभाव रहेको छ । विद्यालयमा खानेपानी र शौचालयको पनि ठूलो समस्या रहेको विद्यालयका शिक्षक विकले जानकारी दिए ।
जनप्रतिनिधिहरु आएपछि भने उक्त विद्यालयमा केही सहज भएको शिक्षिका राईले बताइन् । विद्यालयसम्म बाटो पुगेको छ । जनप्रतिनिधिहरुले विद्यालयसम्म पुगेर समस्या सुन्ने र समाधानको प्रयास गर्ने गरेको उनले बताइन् । विद्यालयमा जनप्रतिनिधि पनि अनुगमन पुग्ने गरेको भन्दै उनले यसले पढाईमा पनि सुधार आएको उनले बताइन् ।
हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले दरबन्दी मिलानको समस्या भएको बताए । विद्यार्थीहरुको संख्या कम भएकोले १० कक्षासम्म पु¥याउन पनि समस्या भएको भन्दै उनले त्यहाँ नजिकको अर्को प्राथमिक विद्यालयलाई भने क्रमशः स्तरवृद्धि गर्ने पहल भइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*