तीन महिनाभित्र हरेक नेपालीमा कोरोनाविरुद्ध निःशुल्क खोप पुर्याउने प्रधानमन्त्रीको विश्वास
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुमा कोरोना विरुद्ध निःशुल्क खोप पुर्याइने बताउनु भएको छ ।
बुधबार बालुवाटारमा आयोजित कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उहाँले तीन महिनासम्ममा कोरोना विरुद्ध निःशुल्क खोप हेरक नेपालीमा पुर्याइने विश्वास व्यक्त गर्नुभयो ।
खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद समेत दिनुभयो । उहाँले आवश्यक परे भारतबाट किनेर पनि खोप ल्याइने बताउनु भएको छ ।
कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको छ । नेपालले कोरोनाविरुद्ध कोभिशिल्ड खोप प्रयोगमा ल्याएको हो । कोभिशिल्ड खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।







