प्रधानमन्त्री ओलीले सर्वोच्चमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा दिनु आपत्तिजनकः नेपाली कांग्रेस
नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक भएको बताएको छ । सोमबार एक विज्ञप्ति निकालेर कांग्रेसले फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु सबैको नैसर्गिक अधिकार भएको जनाएको हो ।
‘प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेको अधिनायक आकाङ्क्षालाई थप उजागर गरेको छ । कुनै पनि रङ्ग र स्वरूपको अधिनायकवादविरुद्ध सङ्घर्षमा उभिनु चाहिँ देशभक्तहरूको जिम्मेवारी, कर्तव्य र पहिचान हो’, विज्ञप्तिमा भनिएको छ, उज्यालो अनलाइनले लेखेको छ ।
कांग्रेसले सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको बताएको छ । कांग्रेसले सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान भएको विज्ञप्तिमा उल्लेख छ ।
‘आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नु, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्वप्रधानन्यायाधीशहरूलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको बर्बराहट हो’, कांग्रेसले भनेको छ । प्रधानमन्त्रीका पछिल्ला कैयौँ अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धूलिसात् बनाउँदै लगेको कांग्रेसको ठहर छ ।
आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्ममार्फत प्रधानमन्त्री ओलीले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढङ्गले अपमान गरिरहनुभएको विज्ञप्तिमा भनिएको छ ।
‘प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरूलाई देशविरोधी, देशद्रोही भनेर गैर–जिम्मेवार ढङ्गले लाञ्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेसा, समुदायलाई लाञ्छित र अपमानित गर्ने ढङ्गले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ।







