अपराध रोक्न सत्य खबर संप्रेशण गरी प्रहरीलाई सहयोग गर्नुस्ः प्रहरी प्रमुख राठौर
मकवानपुरमा सरुवा भई आउनु भएका प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौरले मकवानपुरमा देखिएको लागुऔषध उत्पादन, ओसारपसार तथा प्रयोग न्युनिकरण गर्न विषेश योजना बनाएर अघि बढ्ने बताउनु भएको छ ।
सोमबार आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा उहाँले सामाजिक विकृति तथा अपराध न्युनिकरणलाई मुख्य लक्ष्य बनाएर काम गर्ने बताउनुभयो । प्रहरी प्रमुख राठौरले पत्रकारहरुलाई जनतामा सत्य तथ्य खबर संप्रेशण गरी जघन्य अपराध रोकथाम तथा न्युनिकरणमा प्रहरीलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
समाजमा अहिले प्रमुख समस्याको रुपमा रहेको सामाजिक विकृती तथा अपराध न्युनिकरण गर्न सबैको सहयोग आवश्यक रहेको उहाँको भनाई छ । उहाँले मकवानपुरका विभिन्न प्रहरी इकाईका प्रमुखहरुलाई नागरिकसंगको सम्बन्ध सुधार र अपराधमा शुन्य सहनशिलताको नीति अवलम्बन गर्न निर्देशन समेत दिनुभएको छ ।
राठौर अपराध अनुसन्धान र अप्रेशनमा अब्बल मानिनुहुन्छ भने उहाँसंग लामो सयम काठमाडौँ उपत्यकामा बसेर ‘पुलिसिङ’ गरेको अनुभव छ । कार्यक्रममा प्रहरी निरीक्षक अविनाश अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पूर्व अध्यक्ष भानुभक्त आचार्य लगायतको उपस्थिति रहेको थियो ।







