कुनै समन्वय नगरी गाँजा फाँड्न प्रहरीको डफ्फा खटाइनु आपत्तिजनकः राक्सिराङ गाउँपालिका

छहारी संवाददाता
मंसिर २१, २०७७

मकवानपुरको राक्सिराङ गाउँपालिका क्षेत्रमा लगाइएको गाँजा तथा अफिम फडानीको लागि गाउँपालिकासँग आवश्यक समन्वय नगरिएपछि राक्सिराङ गाउँपालिका रुष्ट बनेको छ ।

संघीय संरचनाअनुसार अधिकार प्राप्त स्थानीय सरकारसँग कुनै पनि समन्वय र सहकार्य नगरी गाउँगाउँमा प्रहरी खटाइएको भन्दै गाउँपालिकाले आपत्ति जनाएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारीकाबीच गाउँगाउँमा प्रहरीको हुल परिचालन गरिएको भन्दै यसले स्थानीयमा त्रास सिर्जना भएको बताएका छन् ।

‘गाउँपालिका आफ्ना नागरिकका स्वास्थ्य र सुरक्षाका सन्दर्भमा धेरै संवेदनशील छ भने अर्कोतिर नेपालको संविधानको धारा २३२ मा संघ, प्रदेश र स्थानीय सरकारबीच सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तको आधारमा सम्बन्ध स्थापित हुने व्यवस्था गरिएको छ, विज्ञप्तिमा भनिएको छ ।

केहीदिन यता संघीयताको मर्म र संविधानको भावना विपरित गाउँपालिकासँग कुनै समन्वय नगरी स्वास्थ्य सुरक्षाका कुनै पनि मापदण्ड पूरा नगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीका डफ्फाका डफ्फा जनशक्ति गाउँ तथा वडावडामा छिरी स्थानीयमा त्रास फैल्याउने काम भइरहेको भन्दै गाउँपालिकाले आपत्ति जनाएको छ ।

गाउँपालिका अध्यक्ष मल्लद्धारा जारी विज्ञप्तिमा भनिएको छ-” यस्ता कार्यले स्थानीय स्तरमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने व्यापक जनगुनासो समेत आइरहेको सन्दर्भमा भोलिका दिनमा स्थानीय स्तरमा कोरोना भाइरसको संक्रमण बढेर स्थिति भयावह भएमा त्यसको जिम्मेवारी सम्बन्धित निकायले नै लिन र गाउँबासीलाई सुरक्षित रहन आग्रह गर्दछु ।

’कोरोना महामारीकाबीच गाउँपालिकामा आउने शिक्षकहरुलाईसमेत कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य र रिपोर्ट नहुनेलाई सात दिनको क्वारेन्टाइनमा राखी विद्यालय सञ्चालन गरिएको स्मरण गराउँदै गाउँपालिकाले स्वास्थ्यको मापदण्ड पूरा नगरी आवश्यक समन्वय पनि नगरी प्रहरी परिचालन गरिएकोमा आपत्ति रहेको गाउँपालिका अध्यक्ष मल्लले बताए ।
हेर्नुहोस् विज्ञप्ति

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*