लोकसेवा आयोगको छवि कायम राख्दै काम गर्नुपर्छ– मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
मंसिर १७, २०७७

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश लोकसेवा आयोगले सङ्घीय लोकसेवा आयोगको छविलाई कायम राख्दै काम गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेश लोकसेवा आयोगको कार्यालय निरीक्षण तथा अवलोकनका लागि आयोगको कार्यालय हेटौँडा पुग्नुभएका मुख्यमन्त्री पौडेलले कसैले पनि आफूले प्राप्त गरेको अख्तियारको दुरुपयोग गर्नु नहुने धारणा राख्नुभयो । पौडेलले प्रदेशमा भनसुन र पहुँचका आधारमा जागिर पाउने सम्भावना नरहने बताउनुभयो । उहाँले आयोगले आफ्नो काममा कसैले पनि औँला ठड्याउन नसक्ने गरी काम गर्नुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आयोगले आयोगका सबै पदाधिकारी तथा कर्मचारीले चाहेमा समेत निश्चित उम्मेदवारलाई उत्तीर्ण वा अनुत्तीर्ण गराउन नसकिने गरी प्रणाली व्यवस्थित गरिएको बताउनुभयो । आयोगका सदस्य सुदर्शनप्रसाद ढकालले आयोगले सीमित स्रोत र साधनका बाबजुत पनि प्रशस्त काम गर्न सकेको बताउनुभयो । अर्का सदस्य शर्मिला नेउपाने (न्यौपाने)ले आफूहरुले उपयोगी तथा प्राविधिकलगायत सबै हिसाबले वैज्ञानिक पाठ्यक्रम तयार पारेको बताउनुभयो । आ

योगका निमित्त सचिव भोला दाहालले आयोगमा कर्मचारीको अभाव रहेको भए पनि आफूहरु परिणाम दिने गरी काममा लागेको बताउनुभयो । उहाँले आयोगले जारी गरेको विज्ञापनअनुसार हालसम्म पाँच हजार ६२१ वटा आवेदन प्राप्त भएको र जसबाट रु ४१ लाख ६९ हजार राजश्व सङ्कलन भएको जानकारी दिनुभयो । प्रदेशमा प्रदेश र स्थानीय तहमा प्रदेश लोकसेवा आयोगमार्फत कर्मचारी पदपूर्ति गर्ने प्रक्रिया शुरु गरिएको छ ।

आयोगले स्थापनाको झण्डै एक वर्षपछि पहिलोपटक रिक्त दरबन्दीमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । प्रदेश सरकार र स्थानीय तहको माग फारामका आधारमा चौथो तहमा रिक्त दरबन्दीमा कर्मचारी भर्नाका लागि आयोगले विज्ञापन प्रकाशित गरेको थियो । यसबाहेक आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा ३६ जना र आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाबाट ३६ जना गरी प्रशासनिक तथा प्राविधिकतर्फ चौथो तहमा ८१ जना पदपूर्ति गर्ने विज्ञापनमा उल्लेख छ ।

त्यस्तै खुलातर्फ ३८८ जनासहित महिला, आदिवासी जनजाति, मधेशी, दलित तथा अपाङ्गता भएकासमेत रहनेगरी चौथो तहको रिक्त पदमा पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जनाएको छ । हाललाई प्रदेशका दुईवटा मन्त्रालयका लागि २२ जना र ४४ वटा स्थानीय तहका लागि अन्य कर्मचारी माग गरिएको हो । आयोगले लिने परीक्षा उत्तीर्ण परीक्षार्थीलाई स्थायी नियुक्ति भने सम्बन्धित मन्त्रालय वा स्थानीय तहलेनै गर्ने विज्ञापनमा उल्लेख छ । यो समाचार हामिले न्युज २४ बाट साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*