‘सर्भिस फर पिपुल’ भन्दै अलाइन्सल क्लब नेपाल भित्रियो, यस्तो छ पञ्च वर्षीय योजना

छहारी संवाददाता
२५ आश्विन २०७७, आईतवार १२:४८

अलाइन्सल इन्टरनेशनल क्लबको नेपालमा औपचारिक घोषणा भएको छ । अरुणराज सुमार्गी संस्थापक गर्भनर रहेर १५ वर्ष अघि भारतबाट सुरु भएको यो क्लब नेपालमा पनि प्रवेश भएको हो । हाल २० देशमा पुगिसकेको यो क्लबले सस्तोमा अन्य क्लब सरह सेवा दिने लक्ष्य लिएको छ ।

लाइन्स क्लबका पूर्व गर्भनर एवम् पुल्चोक इन्जिनियरिङ कलेजमा लामो समय इन्जिनियरिङ विभागको प्रमुख रहेका काम गरेका राम भण्डारी क्षेत्रीले करिब एक वर्ष अघि नै अलाइन्सलाई नेपाल भित्र्याउने पहल गरेका थिए, बिजपाटी डटकममा खबर छ । १५ सदस्य रहेपछि क्लब बन्ने र वार्षिक १ हजारमा नै सदस्य बन्न सक्ने गरी १ वर्षको मेहनत पश्चात अलाइन्सलाई नेपाल भित्र्याउन सफिल भएको गर्भनर सुमार्गीले बताए ।

‘ब्रेष्ट क्यान्सर’ को हस्पिटल बनाउने लक्ष्य

‘सर्भिस फर पिपुल’ भन्ने नारासहित आफ्नो काम सुरु गरेको अलाइन्स इन्टरनेशनलले आगामी ५ वर्षभित्र नेपाल सरकारसँग मिलेर विदेशी दाता र आफूहरुबाट रकम संकलन गरी ‘ब्रेष्ट क्यान्सर’ को हस्पिटल निर्माण सक्ने लक्ष्य लिएको छ ।

हाल काठमाडौँ, हेटौँडा, पोखरा, विराटनगर, वीरगञ्जबाट सदस्यहरु छन् । क्लबको प्रथम उप गर्भनरमा आर्किटेक्ट इन्जिनियर एवम् रोटरीका पूर्व सदस्य कृष्ण चित्रकार, दोस्रो उप गर्भनरमा एनजीओको अनुभवी ज्ञाता मानिने नन्दराज पोखरेल र तेस्रो उप गर्भनरमा महिला उद्यमी धन आचार्य रहेकी छिन् । महासचिव आइटी इन्जिनियर दिनेश लम्साल र कोषाध्यक्ष आइटी इन्जिनियर राहुल रेग्मी छन् । संस्थापक पियारोमा शुष्मा कोइराला रहेकी छिन् भने पोखराबाट महेश पौडेल, वीरगञ्जबाट रागव आचार्य र हेटौँडाबाट गौरि चिमोरिया सदस्य छिन् ।

‘मैले केही दशक अघिदेखि नै हेरक ५ वर्षको योजना बनाएर काम गर्ने गरेको छु’ संस्थापक गर्भनर सुमार्गीले भने, ‘मकवानपूरमा विद्यालय, वृद्धाश्रम सहितको पार्क जस्ता कामहरु ५ वर्षको योजना बनाएर सकेको थिएँ, त्यसैले आगामी ५ वर्षभित्र ब्रेष्ट क्यान्सरको उपचार हुने प्रविधियुक्त हस्पिटल बनाएर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य हामीले लिएका छौँ ।’

‘देश बनाउन मन्त्री, प्रधानमन्त्री बन्नु पर्दैन’

अलाइन्सको संस्थापक गर्भनर बनेका व्यवसायी अरुणराज सुमार्गी आशा गरिएका व्यक्तिहरु राजनीति तिर होमिदा मूलुक पछि परेको बताउँछन् । पत्रकारहरु पत्रकारिता छोडेर राजनीतिमा लाग्ने गरेको र विद्धानहरु नेताको पछि लाग्ने गरेका कारण राजनीतिक दलको सदस्य नभएको मान्छे पाउनै मुस्किल हुने गरेको उनको भनाई छ ।

‘देश बनाउन मन्त्री प्रधानमन्त्री नै बन्नुपर्छ भन्ने भावना त्याग्नु जरुरी छ’ उनले भने, ‘देशमा राजनीतिक दल मात्रै खुले, तर स्वतन्त्र रुपमा सहयोग गर्ने, अभियान चलाउने, रचनात्मक काम गर्ने समूह नै भएन ।’

‘भुटानमा आजभन्दा करिब ४० वर्ष अघि १७ जना शिक्षकहरुले नागरिकलाई कसरी खुशी राख्ने भनेर त्यहाँको सरकारसँग बहस गर्न एउटा समूह बनाएका थिए, उनीहरुले नागरिकको जीवनस्तर उकास्न र खुशी भएर मानिसको बाँच्न पाउने अधिकारबारे सरकारसँग निरन्तर बहस गरिरहे’ सुमार्गीले उदाहरण दिँदै भने, ‘आज भुटान विश्वका खुशी मानिस भएका देशको सूचीमा पर्छ, यसको देन ती १७ जना शिक्षकहरुलाई जान्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*