कोरोना अपडेटः मकवानपुरमा संक्रमित ११ सय नाघे, सबैभन्दा बढी हेटौंडामा
मकवानपुरमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार १ सय १५ जना पुगेको छ । हिजो मात्र मकवानपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको सख्या ११ सय नाघेको हो । सबै भन्दा धेरै संक्रमित हेटौंडामा देखा परेका छन् ।
मकवानपु रमा संक्रमितको सख्या ११ सय १५ पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।हेटौंडाको मुख्य बजार क्षेत्रका विभिन्न वडामा कोरोना संक्रमित बढीरहेका छन् ।
घना वस्ती भएका क्षेत्र र मुख्य बजार क्षेत्रमा धेरै संक्रमित देखा परेका हुन् । बजारको तुलनामा मकवानपुरका अरु नौ वटा स्थानीय तहमा अत्यन्त कम मात्र संक्रमित देखा परेका छन् ।
हेटौंडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना प्रयोगशालामा हालसम्म २२ हजार ७ सय ६० जनाको कोरोना परिक्षण गरिएको छ । पहिले स्वाब दिएको एक सातापछी मात्र रिपोर्ट आउने भएपनि अहिले भने स्वाब दिएको दुइदिनमै रिपोर्ट आउने गरेको छ ।







