मकवानपुर गढी गाउँपालिकामा झोलुङ्गे पुल निर्माण पछि स्थानिय खुसी
मकवानपुर गढी गाउँपालिका ४ को वाईबा डाँडा र ५ को कालिवन जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि स्थानिय खुसी भएका छन् । झोलुङ्गे पुल निर्माण भएसंगै आफूहरुले बिगतमा भोग्दै आएको विविध समस्या अब टरेको भन्दै स्थानियले खुसी व्यक्त गरेका हुन् ।
संघीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तरगत ४७ लाख ८५ हजार ४ सय ७७ र स्थानीयको तर्फबाट ९५ लाख ७ हजार ८५ लगानीमा पुल निर्माण गरिएको हो । मंगलबार पुलको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाइले स्थानीयलाई अब व्यवसायिक उत्पादनमा लाग्न अनुरोध गर्नुभयो ।
अध्यक्ष हुमगाईले भन्नुभयो -“अब खोलाको समस्या टरेको छ, कृषि पशुपालन वा लघु तथा मझौला उद्योग संचालन गर्नुहोस्” । विद्यार्थी, वृद्धहरुको लागि झोलुङ्गे पुल बरदान बन्ने उहाले बताउनु भयो । हुमगाईंले गाउँपालिकाले भौतिक, आर्थिक, सामाजिक विकासलाई समान प्राथमिकता दिदै आएको र जनताको हितको लागि काम गर्दै आएको भन्दै आगामी दिनमा पनि पछि नहट्ने बताउनुभयो ।
उहाँले मकवानपुर गढी गाउँपालिका मानव वस्तिको लागि अति उपयोगी भएकोले नजिकै रहेको हेटौंडा बजारमा केही धुर घडेरी किन्न मरिहत्ते नगर्न समेत स्थानियलाई अनुरोध गर्नुभयो ।
कार्यक्रम गढी गाउँपालिका ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिनाले आफूहरू निर्वाचित भएर आएपछि ३ जना स्थानीयको त्यही खोला तर्ने क्रममा मृत्यु भएको स्मरण गर्दै अब ती पीडादायी दिन सकिएको भन्दै खुसि व्यक्त गर्नुभयो । हेर्दा एउटा सामन्य पुल भएपनी यससँगै धेरै आवश्यकताहरु टरेको गढी गाउँपालिका ५ का वडा अध्यक्ष जितबहादुर घिमिरेले बताउनु भयो ।
कुल १ सय १९ मिटर लामो झोलुङ्गे पुल निर्माणमा सामाजिक संस्था राडो नेपाल मकवानपुरले सामाजिक तथा प्राबिधिक सहजीकरण गरेको थियो । पुल उद्घाटन कार्यक्रममा गाउँ कार्यपालिका सदस्य निर्मला बिक,वडा ५ को वडा सदस्य उषा नेपाली,वडा ४ को वडा सदस्य संगिता नेपाली,वडा नम्बर ५ को टोल विकास समितिका थलनाथ घिमिरे, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरिता दाहल लगायतको उपस्थिति रहेको थियो । पुल निर्माण उपभोक्ता समितिको अध्यक्ष बिनोदमान गोलेको अध्यक्षतामा भएको थियो ।







